हेटौंडाः स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपश्चात् माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आजबाट सुरु हुँदैछ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाच्नलाई दृष्टिगत गरी निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुटेका नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गर्न सक्नेछन् । कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

यसैगरी, आयोगबा वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मताता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । पेशा व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफु रहेको जिल्लामा निवेदन दिएमा बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रमसमेत संचालन हुने आयोगले जनाएको छ । आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोगले सबै नेपाली नागरिकहरुलाई आग्रह गरेको छ ।