Home खेलकुद असार पहिलो साता राष्ट्रपति रनिङ शिल्ड हुने

असार पहिलो साता राष्ट्रपति रनिङ शिल्ड हुने

हेटौंडाः असार पहिलो साताबाट हेटौंडा उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड बृहत् खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुन लागेको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपमेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष स्थानीय तहले आफूअनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि आधुनिकका शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । प्रतियोगिताका मूल समारोह समितिका संयोजक मेयर लामा रहने व्यवस्था छ । यस अघि मकवानपुरको थाहा नगरपालिकाले राष्ट्रपति रनिङशिल्डको मिति सार्वजनिक गरिसकेको छ । थाहामा असार ३ गते शुक्रबारबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदैछ ।

Exit mobile version