हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित ज्योति पुस्तकालयलाई ल्यापटप सहयोग प्राप्त भएको छ । मंगलबार सीआरएस हेटौंडाले पुस्तकालयलाई ल्यापटप प्रदान गरेको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज थिकेले जानकारी दिनुभयो ।
सीआरएसले पुस्तकालय अनुगमन गरेर हालका लागि ल्यापटप प्रदान गरेको र आवश्यक सामग्रीको पहिचान गरेको अध्यक्ष थिकेले बताउनुभयो । २०१० मा स्थापना भएको पुस्तकालय २०५० सम्म सञ्चालनमा आएको थियो । ५० सालको बाढीले पुस्तकालय भवनमा क्षति पुगेको र पुस्तकहरु बिग्रेको थियो । त्यसपछि गाउँ विकास समितिसँग समन्वय गरेर पुस्तकालय भवन निर्माण गरिएको थियो । गत सालमा गाउँपालिकाले पुस्तकालय भवनका लागि फर्निचर, ३ थान कम्युटर प्रदान गरेको थियो ।
यस्तै पुस्तकालय अभियान समुह मकवानपुरबाट ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग प्राप्त भएको थियो । पुस्तकालयका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरु सहयोग गरी अहिले २ सय ५७ थान पुस्तक रहेको अध्यक्ष थिकेले बताउनुभयो । यस वर्ष गाउँपालिकासँग समन्वय गरेर पुस्तकालयमा फ्रि वाईफाई इ लाईब्रेरी सञ्चालन गरेको जनाइएको छ । पुस्तकालयमा पुस्तक अध्ययन गर्न बेलुका ४ बजेदेखि ६ बजेसम्म दुई घण्टा समय खुल्ला गरिएको छ । पुस्तकायलयमा वाईफाइ जडानपछि विद्यार्थीहरुलाई अनलाइन कक्षा त्यही आएर अध्ययन गर्न सहयोग हुने थिकेको भनाई छ ।