हेटौंडाः हेटौंडा–१८, खड्कुँलेस्थित मकवानपुर बाल विद्या सदनले स्कूल क्याप्टेन, भाइस क्याप्टेन र कक्षागत क्याप्टेनहरुलाई जिम्मेवारी हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी निर्वाचित भएको प्रमाणपत्र वितरण, क्याप्टेन र भाइस क्याप्टेनको व्याच वितरण गर्दै जिम्मेवारी हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष, वडा सदस्यहरुको उपस्थितिमा विद्यार्थीलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
विद्यार्थीलाई निर्वाचन प्रक्रियासमेत बुझाउने गरी शुक्रबार मतदानको कार्यक्रम गरिएको थियो । निर्वाचनबाट स्कूल क्याप्टेनमा १० कक्षाकी विद्यार्थी कुसुम खड्का र भाइस क्याप्टेनमा ९ कक्षाकी सुजना सापकोटा चयन हुनुभएको थियो । यस्तै कक्षागत क्याप्टेनमा कक्षा १० मा रुपेश घिमिरे, ९ मा विशेष तिमल्सिना, ८ मा समीर बिक, कक्षा ७ मा साहिल बिक, कक्षा ६ मा एल्जीना डिम्डुङ र कक्षा ५ मा मौलिक श्रेष्ठ चयन हुनुभएको थियो । स्कूल क्याप्टेनको जिम्मेवारी ग्रहणपछि कुसुम खड्काले निर्वाचनको क्रममा व्यक्त गरिएका प्रतिवद्धता पूरा गरिने बताउनुभयो ।
निर्वाचित विद्यार्थी नेतालाई जिम्मेवारी, अधिकारको जानकारी गराउने उद्देश्यले प्रशिक्षण प्रदान गर्ने बताइएको छ । विजयी विद्यार्थीलाई अभिमुखीकरण गरेर विद्यालय र कक्षाकोठामा अनुशासन कायम राख्ने, कक्षाकोठाका समस्या विद्यालय प्रशासनसम्म जानकारी गराउने जिम्मेवारी प्रदान गर्नुका साथै विद्यालयको निर्णायक तहमा उनीहरुलाई सहभागी गराइने विद्यालयले जनाएको छ ।
विद्यार्थीलाई जिम्मेवारी हस्तान्तरणसँगै १८ नम्बर वडा अध्यक्ष अनिल कुमार बानियाँ, वडा सदस्यहरु विष्णुमाया थपलिया, तोयानाथ तिमल्सिना र योगराज खतिवडा, १७ नम्बर वडा सदस्यमा निर्वाचित विद्यालयका अभिभावक कृष्णबहादुर अधिकारीलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा वडाध्यक्ष बानियाँले निजी विद्यालय भए पनि मकवानपुर बालविद्या सदनले गुणस्तरीय शिक्षा प्रदान गरेको बताउनुभयो । निजी भइकन पनि सरकारी विद्यालयजस्तै समुदायका सबै तहका विद्यार्थीलाई सशूल्क र निशूल्क दुबै सुविधा दिएको वडाध्यक्ष बानियाँले प्रशंसा गर्नुभयो । किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानमा जोड दिन पनि वडाध्यक्ष बानियाँले आग्रह गर्नुभएको छ ।
विद्यालयका अध्यक्ष सुदीप राज गिरीले विद्यार्थीको क्षमता विकासका लागि फोटोग्राफी तथा भिडियोग्राफीसम्बन्धी अतिरिक्त कक्षा सञ्चालन गरिने, समृद्ध समाज दैनिकसँगको सहकार्यमा विद्यार्थीका रचना र विद्यालयका गतिविधि आवधिक रुपमा प्रकाशन गरिने जानकारी दिनुभयो । विद्यार्थी र अभिभावक दुबैलाई लक्षित गरी दैनिक समाचारपत्र उपलब्ध गराउने पनि गिरीको भनाइ छ ।
सोमबार नै विद्यालय व्यवस्थापन समिति समेत गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुदीप राज गिरी, सदस्यमा कल्पना कुईँकेल, पुरुषोत्तम अधिकारी, बबिता बानियाँ, मोनिका भुजेल र रामचन्द्र खड्का चयन हुनुभएको छ । यस्तै शिक्षक अभिभावक संघको संयोजकमा कृष्ण बहादुर अधिकारी, सदस्यमा निर्मला न्यौपाने, बैकुण्ठ प्रसाद अधिकारी, दुर्गा तिमल्सिना, आइतमान नेगी, अमृता खड्का, अन्जु बानियाँ, सृजना थापामगर र मुस्कान न्यौपाने चयन हुनुभएको छ । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ६ सय २५ विद्यार्थी अध्ययनरत छन् ।