हेटौंडाः मकवानपुर कुखुरा व्यवसायी संघको १५ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभालाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका उपमेयर बानियाँले कुखुरा व्यवसायी सधैं धरासयमा रहने गरेको बताउनुुभयो ।
कुनबेला नाफा वा घाटामा जान्छ भन्न नसकिने अवस्था कुखुरा व्यवसायीमा रहेको उपमेयर बानियाँको भनाई छ । आफूहरुलाई व्यवसायीहरुले आफ्नो समस्याको सम्बोधन गर्छ भनेर नै विजयी गराएको र त्यसलाई सम्बोधन र समाधान गर्ने दायित्व आफूहरुको रहेको उहाँले बताउनुभयो ।
उपमेयर बानियाँले स्थानीय सरकारले बजेट छुट्याउँदा किसान व्यवसायीलाई पहिलो प्राथमिकता दिने बताउनुभयो । कुखुरा व्यवसायी रह्यो भने मात्र औषधी पसल, दाना पसल, अण्डा पसल चल्ने भएकाले सबै पक्षले यस व्यवसायलाई जोगाउनुपर्ने उहाँको भनाई छ । उपमहानगरपालिकाले कुखुरा व्यवसायीहरुलाई आवश्यक परेमा दक्ष जनशक्तिसहितले तालिम दिने उहाँले बताउनुभयो ।
साधारणसभालाई सम्बोधन गर्नुहुँदै कुखुरा व्यवसायी संघ मकवानपुरका संस्थापक अध्यक्ष पूर्णध्वज खड्काले अहिले मकवानपुरमा कुखुरा व्यवसाय गर्ने व्यवसायीहरु घटेको बताउनुभयो । कुखुरा व्यवसायीहरुले समयमा भ्याक्सिन नपाउने, विभिन्न रोग तथा समस्या देखा पर्दा डाक्टर तथा विज्ञहरु नभट्ने हुँदा व्यवसायी धरापमा पर्ने र विस्तारै व्यावसाय नै छाड्ने गरेको उहाँले बताउनुभयो ।
खड्काले कुखुरा व्यवसायीहरुलाई कुखुरा हुर्काउन विद्युत् र पानी बढी खपत हुने हुँदा त्यसमा सहुलियत हुनुपर्ने बताउनुभयो । विद्युत् र पानीको सहुलियत भएमा कम लागतमा धेरै उत्पादन गर्न सकिने र व्यवसायीलाई राहत हुने उहाँको भनाई छ । उहाँले स्थानीय सरकारले कुखुराका लागि चाहिने भ्याक्सिन सहुलियतरुपमा पाउने व्यवस्था गर्न समन्वय गर्नुपर्ने बताउनुभयो ।
यस्तै, संघका पूर्वअध्यक्ष राजु अधिकारीले मकवानपुरमा कुखुरा व्यवसायीलार्ई टिकाउन र बढाउन आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । जिल्लालाई मासु र अण्डामा आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अण्डा र मासु स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा स्थानीय तहका कार्यालयहरुमा, विद्यालयमा खाजाको रुपमा प्रयोग ग¥यो भने व्यवसायी पनि टिक्ने अधिकारीले बताउनुभयो ।
कुखुराको मासु र अण्डामा नियमितजसो मूल्य परिवर्तन भइरहेको भन्दै मूल्यमा केही समयसम्म स्थिर बनाउन र मूल्यसुची राख्न उहाँले जोड दिनुभयो । कुखुरा व्यवसायीहरुलाई निःशुल्क बीमाको व्यवस्था गर्नुपर्ने अधिकारीले बताउनुभयो । हेटौंडामा स्थानीय सरकारले कुखुरा व्यवसायी संघको भवन बनाउन यसअघि नै ५ कठ्ठा जग्गा उपलब्ध गराएको बताउनुहुँदै पूर्वअध्यक्ष अधिकारीले ७ सय जना व्यवसायी अट्ने भवन निर्माणका लागि स्थानीय सरकारले सहयोग गरिदिन आग्रह गर्नुभयो ।