हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पुस्तकालयका लागि बजेट उपलब्ध गराउने बताउनुभएको छ । पुस्तकालय अभियान समूहको प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार बिहान मनहरी सामुदायिक पुस्तकालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष कालाखेतीले पुस्तकालयको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा ध्यान दिँदै पालिकाले आवश्यक बजेट उपलब्ध गराउने बताउनुभएको हो ।

पुस्तकालय अभियान समूहको अग्रसरतामा मनहरी–७ मा गत वर्ष साउन ९ गते मनहरी सामुदायिक पुस्तकालय स्थापना गरिएको थियो । कार्यक्रममा राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले राक्सिराङ गाउँपालिकामा पनि पुस्तकालय अभियान समूहसँगको सहकार्यमा पुस्तकालय स्थापना र सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङले आफ्नै वडामा पहिलो पुस्तकालय स्थापना भएकोमा खुसी व्यक्त गर्नुहुँदै आगामी दिनमा पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापनमा वडाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा मनहरी गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीको पनि उपस्थिति रहेको थियो ।

स्थानीय रोटरी माविका प्रधानाध्यापक गोविन्द पौडेलले पुस्तकालयको औचित्य र आवश्यकताका बारेमा बोल्नु हुँदै आजको डिजिटल युगमा पनि पुस्तकालयको आवश्यकता रहेको बताउनुभयो । मनहरी सामुदायिक पुस्तकालयका अध्यक्ष ईन्द्रमणि स्याङ्तानले स्थानीय सरकारसँग सहयोग लिएर समुदायको सहभागिता र सक्रियतामा पुस्तकालय नियमित सञ्चालन र व्यवस्थापन गर्ने बताउनुभयो । ५ सयभन्दा बढी पुस्तक रहेको पुस्तकालयमा ७५ जना सदस्य छन् ।