प्रसन्ना चौलागाई अध्यक्ष, नवसर्जक साहित्य चौतारी नेपाल

सन् २०१९ को अन्त्यतिर छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसको विश्वव्यापी संक्रमणले लाखौंको ज्यान लियो । संसारभर त्रासको स्थिति रह्यो । कोरोना भाइरसको संक्रमणले नेपालमा पनि बन्दाबन्दी (लकडाउन) को अवस्था आयो । बन्दाबन्दीको स्थितिमा आम समुदाय त्रसित भइरहँदा मकवानपुरका साहित्यकार दीपक गौतमले बालसाहित्यकारहरुलाई अनलाइनमार्फत जोड्ने, साहित्य सिर्जना र प्रस्तुतीमा सक्रिय गराउनुभयो । बालसाहित्यकारहरुको सक्रियता उत्साहजनक भएकै कारण नवसर्जक साहित्य चौतारी नेपालको स्थापना भयो । स्थापनाको करिब डेढ बर्षमा दीपक गौतमसहित अग्रज साहित्यकारको अभिभावकत्व र संरक्षणमा नवसर्जक साहित्य चौतारी नेपालले आज मिति २०७९ साल जेठ २८ गते शनिबार हेटौंडामा प्रथम राष्ट्रिय बालसाहित्य उत्सव–२०७९ को आयोजना गर्दैछ । बालसाहित्य उत्सवकै सन्दर्भमा नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रसन्ना चौलागाईसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा प्रथम राष्ट्रिय बालसाहित्य उत्सव हुँदैछ । यो उत्सवमा के–के हुन्छ ?

चौलागाईः हामीले २०७८ साल पुस ११ गते नवसर्जक साहित्य चौतारी नेपालको पहिलो वार्षिकोत्सव कार्यक्रम अनलाइन (जुम) मार्फत सम्पन्न गरेका थियौं । वर्षमा कम्तिमा एउटा कार्यक्रम गर्ने हिसाबले यो पटक राष्ट्रिय बालसाहित्य उत्सवको आयोजना गरिएको हो । यो कार्यक्रमको मुख्य प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गरेको छ भने प्याब्सन जिल्ला तथा नगर समितिको सहकार्यले थप ऊर्जा मिलेको छ । यो कार्यक्रममा मुख्यगरी हामीले स्रष्टा सम्मान, बाल कविता गोष्ठी एवम् विमर्श भनेर राखेका छौं । सातै प्रदेशका नवसर्जकहरु एवम् एक अग्रज बालसाहित्यकार लाई सम्मान तथा पुरस्कार दिने भएका छौं । त्यसैगरी सम्मानित नवसर्जकहरुका रचना वाचन तथा प्रदेश संरक्षक तथा संयोजकहरुको मन्तव्य सुन्ने छौं । मकवानपुरमा रहनु भएका विभिन्न संघ संस्थासँग आवद्ध साहित्यकारहरु पनि आउनु हुनेछ । अर्को मुख्य विषय हामीले स्मारिका पनि प्रकाशन गर्दै छौं ।

समाजः नवसर्जक साहित्य चौतारीमा आवद्ध बालसाहित्यकार, यो अभियानमा सहभागी बालसाहित्यकारहरुले के कस्ता साहित्यिक क्रियाकलाप गरिरहेका छन् ?

चौलागाईः सर्वप्रथम यो अभियानमा जोडिसकेपछि हामीले साहित्यलाई बुझ्ने र नयाँ कुरा सिक्ने अवसर पाएका छौं । कोभिड–१९ को महामारीको अवस्थामा स्थापना भएको यो अभियानमा जोडिएर बालसाहित्यकारहरुले विभिन्न किसिमका क्रियाकलापहरु गरेका छन् । आफ्नो लेखनको दायरालाई थप निखारता ल्याउने काममा लागि परेका छन् । यो अभियानको सुरुवात भएसँगै साहित्यका अन्य विधाहरुमा कलम चलाउन सक्षम भएका छन् । सृजना र समालोचनाका क्षेत्रमा आफ्ना कलमको धार बलियो बनाउने कर्ममा लागेका छन् र दोस्रो चरणको प्रशिक्षणमा नवसर्जकहरु आफैंले जुम मार्फत आफुलाई मन पर्ने विधामा प्रशिक्षण पनि दिएका छन् । त्यस्तै विभिन्न राष्ट्रिय, जिल्ला तथा स्थानीय तहका कविता प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् । त्यसका साथ–साथै आफैंले रेडियो निकासको सहकार्यमा नवसृजना नामक रेडियो कार्यक्रम पनि चलाउदै आएका छन् ।

समाजः साहित्यमा बालबालिकाको सहभागिताको आवश्यकतालाई कसरी हेर्नुभएको छ ? साहित्यमा सहभागी हुने बालबालिकालाई के कस्ता फाइदा पुग्ने देख्नुहुन्छ ?

चौलागाईः साहित्य भनेको मानिसको आन्तरिक अभिव्यक्ति हो जस अन्तर्गत कुनै पनि उमेर समुदायको घेरा लाग्दैन । अहिलेको समयमा साहित्यमा बालबालिकाको सहभागिता अत्ति आवश्यक भएको छ र धेरै बालबालिकाहरु साहित्यप्रति आकर्षित भइरहेका छन् । साहित्य एक स्वतन्त्र विधा हो यसमा संलग्न भएपछि विशेषगरी बालबालिकालाई धेरै फाइदा पुग्ने मैले देखेकी छु । मुख्यतः लेखन प्रतिको रुचि अभिवृद्धि, साहित्य सृजनाको रसमा रुझ्न सक्ने क्षमता वृद्धि, पठन संस्कृतिलाई मात्र मान्यता दिने नभएर लेखन संस्कृतिको पनि विकास गर्ने तथा आफू भित्रको क्षमता प्रस्फुटन गर्न पनि एउटा मुख्य भूमिका साहित्यले खेलेको देखिन्छ । थप विद्यालयका आयोजना गरिने अतिरिक्त क्रियाकलापमा समेत बालबालिकाहरुले राम्रो प्रतिक्रिया साथै आफ्ना कुराहरु (कुण्ठा तथा हर्षका) विषयलाई खुलेर व्यक्त गर्न पाउनु पनि साहित्यमा सहभागी हुनुको फाइदा अन्तर्गत नै पर्दछ ।

समाजः साहित्यमा बालबालिकाको सहभागितालाई लिएर शिक्षक र अभिभावकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? उहाँहरु खुसी हुनुहुन्छ ?

चौलागाईः हामीले हर्ने दृष्टिकोणबाट सबै कुराको मापन फरक हुने गर्दछ । हिजो आजको समयमा प्रविधिमा धेरै तल्लिन भएका बालबालिकाहरु यदि साहित्य क्षेत्रमा लाग्न रुचि देखाउँछन् भने पक्कैपनि सम्पूर्ण शिक्षक तथा अभिभावकहरुबाट सकारात्मक प्रतिक्रिया नै आउँछन् र आइरहेका पनि छन् । सबै आफ्ना बालबालिकाहरुको उपलब्धि तथा साहित्यिक भविष्यप्रति सकारात्मक नै देखिनु हुन्छ र खुशी पनि हुनुहुन्छ । खुशी हुनुको मुख्य कारण चाहिँ आफ्ना बालबालिकाहरु निकै अगाडि बढेको देख्दा र कुनै गलत बाटोमा नलागेको कुरामा धेरै देखिनु हुन्छ ।

समाजः राष्ट्रिय बालसाहित्य उत्सवबाट बालसाहित्यकारहरुले के लाभ हासिल गर्न सक्छन् ?

चौलागाईः राष्ट्रिय बालसाहित्य उत्सव हाम्रा लागि निकै उत्साहको विषय हो । सर्वप्रथम यो कार्यक्रम हामीले वार्षिकोत्सवको अवसरमै आयोजना गर्ने भनेका थियौं । पछि केही कारणवस जेठ–२८ मा राखिएको हो । यो उत्सवबाट बालसाहित्यकारहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने छन् । हाम्रो अर्को उद्देश्य भनेको सातै वटा प्रदेशका नवसर्जक प्रतिभाहरुलाई सम्मान तथा पुरस्कार दिने र एक अग्रज बालसाहित्यकारलाई सम्मानित गर्ने रहेको छ । यसो गर्नाले बालसाहित्यकारहरुलाई साहित्यिक यात्रामा थप उत्साह र हौसला बढ्ने छ भन्ने कुरामा हामी ढुक्क छौं । त्यस्तै हेटौंडाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट पनि केही प्रतिनिधि नवसर्जकहरुको रचनाहरु पनि वाचन हुने छ । जसमार्फत नयाँ प्रतिभालाई खोज्न सकिन्छ ।

समाजः बालबालिकाको सहभागिता रहेको नवसर्जक साहित्यलाई यो उत्सवले कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?

चौलागाईः यो कार्यक्रममा सकेसम्म धेरै भन्दा धेरै बालबालिकाहरुलाई जोड्दै लाने हाम्रो उद्देश्य हो । धेरै नवसर्जकहरुलाई सहभागी गराएर साहित्य सृजना सुन्ने र सुनाउने कार्यक्रम यस उत्सवको मर्म हो । यसले गर्दा अरु थप साहित्यप्रति रुचि/चासो देखाउने बालप्रतिभालाई जोड्न पनि हामीलाई थप सहयोग मिल्ने छ । यो उत्सवको प्रभाव सबै बालबालिकामा सकारात्मक हुन पुग्छ । किनभने लेख्ने इच्छा राख्नेहरुलाई साहित्यिक कार्यक्रम सधैं प्रिय नै हुने गर्दछ ।