नाटक मञ्चन गर्दै विद्यार्थी ।

हेटौंडाः अन्तर्राष्ट्रिय दातृ संस्था प्लान इन्टरनेशनलसँगको सहकार्यमा हेटौंडा–५ स्थित ग्रामीण महिला सेवा केन्द्रले किशोरकिशोरीका लागि सञ्चालन गरेको परियोजनाको अनुगमन गरिएको छ । ‘नेतृत्व र निर्णय’ कार्यक्रमअन्तर्गत ‘परिवर्तनका संवाहक’ परियोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा सञ्चालित कार्यक्रमको अनुगमन गरिएको हो ।

प्लान इन्टरनेशनलको काठमाडौंस्थित कार्यालयमा ‘नेतृत्व र निर्णय’ कार्यक्रमकी वरिष्ठ प्राविधिक सल्लाहकार रक्षा पौडेल, ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्की, कार्यक्रम संयोजक दीपक न्यौपानेसहितको टोलीले परियोजनाअन्तर्गत सञ्चालित क्रियाकलापका बारेमा अनुगमन गर्नुभयो । हेटौंडा–१९, नेवारपानीस्थित अरनिको माविमा परियोजनाअन्तर्गत सञ्चालित परिवर्तनका संवाहकहरुका लागि सञ्चालित कक्षाको अनुगमन गरिएको थियो । किशोरावस्थामा हुने शारीरिक, मानसिक, सामाजिक परिवर्तनका विषयमा जानकारी गराउँदै लैंगिक एवम् यौनजन्य हिंसाका घटना, जोखिमका पक्ष, अपनाउनुपर्ने सतर्कता लगायत व्यक्तित्व र नेतृत्व क्षमता विकासका विषयमा परिवर्तनका संवाहकसम्बन्धी आवधिक कक्षा सञ्चालन हुने गरेको छ ।

परियोजना सञ्चालन भएका क्षेत्रका वडा अध्यक्षहरुसँग पनि अनुगमन टोलीले अन्तरक्रिया गरेको थियो । हेटौंडा–१९ का वडा अध्यक्ष नवराज सुवेदीले किशोरकिशोरीका लागि सञ्चालित परियोजनाले समुदायमा सकारात्मक प्रभावका पारेको र स्थानीय सरकारले पनि परियोजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अरनिको माविका सहायक प्रधानाध्यापक राजु घलेले परिवर्तनका संवाहक परियोजनामा सहभागी विद्यार्थीमा सकारात्मक परिवर्तन देखिएको जानकारी दिनुभयो । विद्यार्थीहरु अनुशासित भएको, नेतृत्व क्षमता विकास भएको, राम्रो काममा लाग्न प्रेरित भएको सहायक प्रधानाध्यापक घलेको भनाइ छ ।

यस्तै मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित महेन्द्रज्योति माविका विद्यार्थीले नाटक मञ्चन गरेका छन् । परिवर्तनका संवाहक परियोजनामा सहभागी १० देखि १५ वर्ष उमेर समूहका विद्यार्थीले लैंगिक एवम् घरेलु हिंसासम्बन्धी सचेतनामूलक नाटक मञ्चन गरेका हुन् । कक्षा ५, ६ मा अध्ययनरत छात्राहरुले मञ्चन गरेको नाटक हेरेपछि वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले वडाको शैक्षिक सुधारमा उल्लेखनीय कार्य गर्ने बताउनुभयो । विद्यार्थीको क्षमता विकास र सशक्तीकरणमा वडाले सक्दो प्रयास गर्ने र समुदायमा हुने लैंगिक एवम् घरेलु हिंसालाई न्यूनीकरण गर्ने वडा अध्यक्ष अर्यालको भनाइ थियो ।

मकवानपुरगढी गाउँपालिका–५, धादिङमा सञ्चालित सेनिटरी प्याड बनाउने तालिमको पनि अनुगमन गरिएको छ । वडा कार्यालयको हलमा सञ्चालित तालिममा १६ जना किशोरी सहभागी छन् । ग्रामीण महिला सेवा केन्द्रले ४ जना किशोरीलाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने तालिममा सहभागी गराएर उनीहरुबाटै युवा सञ्जाल र परिवर्तनका संवाहक परियोजना कक्षामा सहभागी १६ जना दौतरीलाई तालिम प्रदान गरिरहेको छ । महिनावारी स्वच्छताका लागि उपयोगी हुने गरी पुनःप्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको हो ।