मिनि टिलर किसानलाई हस्तान्तरण गर्दै ।

हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा रहेको गणेश कृषक समूह र वडा नम्बर १ को आयोजनामा कार्यक्रम भएको हो ।

ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा बुधबार कृषि सामग्री वितरण गरिएको हो । कार्यक्रममा कृषक तथा कृषक समूहलाई मिनी टिलर, डिजिटल काँटा, इलेक्ट्रिक स्प्रे पम्प, हिलटेक ट्यांकी, प्लाष्टिक टनेल, बीउबीजनहरु, सुक्ष्म तत्व भिटामिन लगायतका सामग्रीहरु वितरण गरिएको छ । दोस्रो चरणमा किसानहरुलाई इन्सेक्ट नेट, मल्चिङ प्लाष्टिक, थोपा सिंचाइ पाइप लगायतका सामग्री वितरण गरिने बताइएको छ ।

कार्यक्रममा कृषि विकास शाखा प्रमुख कुमार पौडेलले कृषि औजार र सामग्रीको प्रयोग, कार्यक्रमको उद्देश्य तथा यसले दिने प्रतिफलको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा मिनि टिलर १२ वटा, डिजिटल काँटा ७ वटा, इलेक्ट्रिक स्प्रे पम्प ३० वटा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गणेश कृषक समूहकी अध्यक्ष चिनी कुमारी थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाको विशेष आतिथ्य रहेको थियो ।