हेटौंडाः हेटौंडामा जारी चौथोँ संस्करणको स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्गत क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको छ । बिहिबार क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा मकवानपुरको विजय युथ क्लब सेमिफाइनल प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको क्वाटरफाइनल खेलमा बारा जिल्लाको नव जनजागृती युवा क्लबलाई ३–० फराकिलो गोल अन्तर पराजित गर्दै विजय युथ क्लब सेमिफाइन प्रवेश गरेको हो ।
सेमिफाइनलमा प्रवेशसँगै विजय युथले नेपाल पुलिससँगको भेट पक्का गरेको छ । विजय युथले शुक्रबार पहिलो सेमिफाइनल खेलमा पुलिससँग भिड्नेछ । पुलिस मनाङ मस्याङ्दी क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । विजय युथसँग हार व्यहोरेसँगै नव जनजागृती प्रतियोगिताबाट बाहिरिएको छ । नवजनजागृतीले यस अघि सर्लाहीको बागमती युवा क्लब २–० गोलले हराउँदै क्वाटरफाइनलमा विजय युथको भेट पक्का गरेको थियो ।
प्रतियोगिता अन्र्तगत अन्तिम क्वाटरफाइनलको खेलमा क्यामरुनको एभिनियर एफसी विजयी भएको छ । चर्च ब्वाइजलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै एमिनियर सेमिफाइन प्रवेश गरेको छ । बिल्ली, तिम्बा, अब्देल र सामेले समान एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच बिल्ली घोषित भए । बिल्लीले नगद १० हजार रुपैयाँ प्राप्त गरे । एभिनियरले अब दोस्रो सेमिफाइनलमा शनिबार नेपाल आर्र्मी क्लबसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले नगद २५–२५ हजार रुपैयाँ, सर्बोत्कृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछ ।