हेटौंडाः हेटौंडामा जारी चौथो शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–० गोलअन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । निक्कै प्रतिस्पर्धात्मक खेलमा पुलिसले पहिलो हाफमै अग्रता लिएको हो ।
पहिलो हाफको ३१ औं मिनेटमा पुलिसका लागि भरत साहले गोल गरे । ४२ औं मिनेटमा बराबरी गोल गर्ने अवसरस्वरुप मनाङले पेनाल्टी पाएको थियो । मनाङका लागि अन्जन विष्टले प्रहार गरेको पेनाल्टी पुलिसका गोलकिपर सत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे । पुलिसका गोलकिपर चौधरी म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ पाए ।
एक गोलले पछि परेको स्थितमा दोस्रो हाफ तनावपूर्ण समेत बन्यो । रेफ्रीले पुलिसका सब्ष्टिच्युट खेलाडी हेमन्त श्रेष्ठ, प्रशिक्षक अनन्तराज थापा र अर्का खेलाडी हेम तामाङले रातो कार्ड देखाए। खेलको अन्तिम समयमा मनाङका खेलाडीलाई हात हालेका हेम तामाङलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका हुन् ।
प्रतियोगिताअन्तर्गत भोलि बुधबार मकवानपुरको एफसी विजय युथ र बारा जिल्लाको नव जनजागृति युवा क्लबबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।