हेटौंडाः महिला तथा बालबालिका सरोकार केन्द्र मकवानपुरको आयोजनामा रेष्ट अल्मुनाई सदस्यहरुको भेटघाट तथा छलफल कार्यक्रम भएकोे छ । शनिबार रेष्टमा आवद्व किशोरीहरुलाई समाजमा बालबालिकामाथि हुने हिंसा, बालश्रम, यौन शोषण, बालविवाह जस्ता विकृतिहरुको न्युनिकरणमा सक्रिय बनाउन भेटघाट कार्यक्रम भएको हो ।
सोही अवसरमा ५ पालिकामा किशोरीहरुको सञ्जाललाई सक्रिय बनाउन १५ जना लिडर र सुचना अधिकारीको छनौट समेत गरिएको छ । राक्सिराङमा मनिषा स्याङ्तान, शान्ति थिङ, भावना कार्की र मनहरीमा सृजना पौडेल, मानकुमारी कार्कीलाई बालबालिका तथा महिलाको समस्याकाबारे सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारी प्रदान गरिएको छ । कैलाशमा रुपमा घिसिङ, निरु नेगी, हेटौंडामा सुस्मिता सुनार, गँगा वाईबा, शर्मिला घलान, बकैयामा अंशिका लामिछाने, रुपा बनियाँ, अञ्जली स्याङ्तानलाई जिम्मेवारी प्रदान गरिएका हो । भीमफेदी र मकवानपुरगढीमा भने रेष्टको कार्यक्रम अन्तिम चरणमा रहेकाले हेटौंडासँग गाभिएको छ । महिला तथा बालबालिका सरोकार केन्द्र मकवानपुरका अध्यक्ष सरु विकको सभाध्यक्षमा कार्यक्रम भएको हो ।
कक्षा १२ सम्म रेष्टको सहयोगमा पढ्नुभएकी अनुजा गुरुङले बालबालिकाको स्थिति, समस्याका विषयमा स्ष्ट पार्नुभयो । २ वर्षको अवधिमा मनहरी गाउँपालिकामा एक सय वटा बालविवाह र ४ वटा बालश्रम अन्त्य गर्न सफल भएको जानकारी दिनुभयो । बालबालिकाको समस्याका विषयमा आवाज उठाउँदा समाजको दृष्टिकोण फरक हुँदा धम्कीपूर्ण अभिव्यक्ति खेप्नुपरेको उहाँले बताउनुभयो ।