हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले तीन जनालाई भोकेस्नल एक्सिलेन्स अवार्ड प्रदान गरेको छ । मकवानपुरमा जन्मिएर विभिन्न पेशामा संलग्न रहेका व्यक्तिहरुलाई शनिबार भोकेस्नल एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।
कोरोना महामारीका कारण प्रदान गर्न नसकिएको अवार्ड शनिबार एक कार्यक्रमबिच पं्रदान गरिएको छ । भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट मकवानपुरका न्युरो सर्जन डा. गोपालरमण शर्मा, २०२१ बाट एसियाकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा र २०२२ बाट मुटुरोग विशेषज्ञ प्रा.डा प्रेमराज वैद्यलाई अवार्ड प्रदान गरिएको गरिएको हो । डा. वैद्य हेटौंडाको पहिलो मुटुरोग विशेषज्ञ हुन् । शर्मा, लामा र बैद्यलाई अवार्डसँगै नगद २५/२५ हजार रुपैयाँ राशीबाट सम्मानित गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा तथा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले हेटौंडामा किड्नी प्लान्ट सेवा सुरु गरी नेपालको हवको रुपमा हेटौंडालाई विकास गरिने बताउनुभयो । सामुदायिक विद्यालय अध्ययन गरिने विद्यार्थी आर्थिक अवस्था कमजोर भएका हुने भएकाले छात्राहरुलाई छात्रवृद्वि कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामाले प्रदेशको अब्बल राजधानीका रुपमा हेटौंडालाई विकास गरिने बताउनुभयो । जसमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइने उहाँको धारण छ । कार्यक्रममा उपमेयर राजेश बानियाँ लगायतको उपस्थिति रहेको थियो ।