विद्यालयलाई नगद रकमको नमूना चेक हस्तान्तरण गर्दै ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविका पूर्वविद्यार्थीले विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अभिभावक भेला तथा पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रममा पूर्वविद्यार्थीहरुको समूह श्रमिक क्रियाशील विद्यार्थी समूहले विद्यालयलाई नगद सहयोग गर्नुका साथै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिँदै ।

पूर्वविद्यार्थीले विपन्न परिवारका २१ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । २१ जना विद्यार्थीको बार्षिक शैक्षिक शूल्कवापत ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । श्रमिक माविबाट एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरुले श्रमिक क्रियाशील विद्यार्थी समूह स्थापना गरेर विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा सहयोग गर्दै आएको अध्यक्ष सपना लामाले जानकारी दिनुभयो । समूहले नियमित मासिक बैठक बसेर योजना बनाउनुका साथै ५८ जना सदस्यबाट मासिक २ सय रुपैयाँ सहयोग संकलन गर्ने गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको कार्यवाहक अध्यक्ष रिता दाहालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमको पनि उपस्थिति रहेको थियो । अभिभावक भेलाको अवसरमा विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेको छ । वडा अध्यक्ष नवीन सिग्देलले विद्यालयको भौतिक एवम् शैक्षिक विकासमा वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।