थाहा नगरपालिकामा कार्यपालिका सदस्य चयनको लागि मतदान गर्दै ।

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा कार्यपालिका सदस्य चयनको लागि निर्वाचन सम्पन्न भएको छ । मंगलबार भएको निर्वाचनबाट महिला सदस्यमा नेकपा माओवादी केन्द्रका ५ जना उम्मेद्वार निर्वाचित भएका छन् ।

माओवादीका तर्फबाट रितु कार्कीले ३३ मत, अञ्जु श्रेष्ठले ३३ मत, अनिता बलले ३३ मत, चन्द्रमाया थिङले ३३ मत र पवित्रा कार्की ठकुरीले ३१ मत प्राप्त गरी निर्वाचित हुनुभयो । यस्तै दलित÷अल्पसंख्यक ३ जना सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका १ जना निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रामप्रसाद बिश्वकर्माले ३४ मत, राम दर्जीले ३४ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीका जनक बहादुर कामीले २९ मत र एमालेका अशोक खाती चनाराले २२ मत प्राप्त गरेका छन् ।

थाहा नगरपालिका नगर कार्यपालिकामा नेकपा माओवादी केन्द्रबाट १४ जना, नेपाली कांग्रेसबाट ४ जना, नेकपा एमालेबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट १ जनाको प्रतिनिधित्व रहनेछ । कार्यपालिका सदस्यमा निर्वाचनमा निर्वाचित सबैलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोदकुमार लामाले बधाई दिनुभयो । लामाले कार्यपालिकामा आफ्नो पार्टीको स्पष्ट बहुमत भए पनि सबै दलको भावनाको सम्मान गरिने र नीति तथा कार्यक्रमहरुमा उचित स्थान दिई सहकार्यको संस्कृती कायम राख्ने बताउनुभयो ।