हेटौंडाः थाहा नगरपालिकाका जनप्रतिनीधिहरुले शैक्षिक विकासमा प्रतिबद्ध रहेको बताएका छन् । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रको एक मात्र बहुमुखी क्याम्पस पालुङ बहुमुखी क्याम्पसले आयोजना गरेको थाहा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान, बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा सहभागी नवनिर्वाचित जनप्रतिनीधिहरुले थाहा नगरको शिक्षा क्षेत्रको विकासमा काम गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

कार्यक्रममा क्याम्पसको विकासका लागि सबै पक्षको सहयोगको आवश्यक रहेको थाहा नगरप्रमुख तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर बिष्टले बताउनुभयो । बिष्टले पालुङ्ग क्याम्पसको मुख्य समस्याको रुपमा आर्थिक पक्ष रहेको जानकारी गराउँदै प्रदेश र संघबाट स्पष्टरुपमा सम्बोधन नभएकोले क्याम्पस आर्थिक रुपमा सबल हुन नसकेको बताउनुभयो । क्याम्पसबाट संख्यात्मक र गुणात्मक दुबै किसिमको जनशक्ति उत्पादन गर्नु अहिलेको चुनौती रहेको उहाँको भनाई छ । शिक्षा क्षेत्रको विकासको लागि सबै सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने भन्दै उहाँले नगरप्रमुखको हैसियतमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले थाहा नगरको समग्र शैक्षिक विकासमा आफू डटेर लाग्ने बताउनुभयो । उहाँले पालुङ क्याम्पसलाई थाहा नगरको शैक्षिक केन्द्र बनाउन नगरपालिकाले काम गर्ने जानकारी दिनुभयो । कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, क्याम्पस प्रमुख रामहरि अधिकारी, अभिभावक निरन्जन अधिकारी, क्याम्पस सञ्चालक समिति कोषाध्यक्ष बिमलकुमार ढकाल, सदस्य सुरेन्द्रमान प्रधान, प्राध्यापक हरिकृष्ण कार्की लगायतले क्याम्पसको शैक्षिक विकासका लागि थाहा नगरको ध्यानाकर्षण गर्दै, उच्च शिक्षाको लागि नगरलाई शैक्षिक गन्तब्यको रुपमा विकास गर्न नगरपालिकाले बिशेष नीति बनाई शिक्षा, स्वास्थ्य, पर्यटनको नारालाई सार्थक बनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन्।

क्याम्पस संचालक समिति उपाध्यक्ष श्यामभक्त श्रेष्ठको अध्यक्षतामा भएको स्वागत, सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा नव निर्वाचित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, क्याम्पस संचालक समितिका कोषाध्यक्ष बिमल कुमार ढकाल, सुरेन्द्रमान प्रधान, बिमलकुमार बिष्ट, सुदर्शन कार्की, रामशरण थापा, कार्यपालिका सदस्यहरु, क्याम्पस प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।