फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाका ३२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएनन् । गाउँपालिकाका विभिन्न विद्यालयमा कक्षा १० मा भर्ना भएका २ सय ७९ जना विद्यार्थीमध्ये ३२ जना परीक्षामा सहभागी नभएका हुन् ।

राक्सिराङ गाउँपालिकामा रहेका ४ वटा माध्यमिक विद्यालयबाट २ सय ४७ जना विद्यार्थीले मात्र परीक्षा दिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत प्रशान्त तामाङले जानकारी दिनुभयो । राक्सिराङ-९ मा रहेको कालिका माविमा ४० जना विद्यार्थी कक्षा १० मा भर्ना भएकामा ३९ जनाले परीक्षा दिएका छन् भने एक जनाले परीक्षामा सहभागी भएनन् ।

यसैगरी, राक्सिराङ-६ मा रहेको राष्ट्रिय माविमा १ सय ३ जना विद्यार्थी कक्षा १० मा भर्ना भएकामा ८४ जना विद्यार्थीमात्र एसईई परीक्षामा सहभागी भएका छन् राष्ट्रिय माविमा भर्ना भएकामात्र १९ जना विद्यार्थीले एसईई परीक्षा दिएनन् । गाउँपालिकाको वडा नम्बर ९ मा रहेको सूर्योदय माविमा एक सय १९ जना विद्यार्थी कक्षा १० भर्ना भएकामा एक सय ११ जना परीक्षार्थीमात्र परीक्षामा सहभागी भएका छन् । राक्सिराङ–४ मा रहेको कालिका माविमा १७ जना विद्यार्थी कक्षा १० मा भर्ना भएकामा १३ जनाले मात्र परीक्षा दिएका छन् ।

सानै उमेरमा विवाह गर्ने तथा रोजगारीमा संलग्न हुनुपर्ने बाध्यताले विद्यार्थीहरु एसईई परीक्षामा सहभागी नभएको हुनसक्ने शिक्षा अधिकृत तामाङले बताउनुभयो । मकवानपुर जिल्लाबाट यस वर्ष एक सय ३६ विद्यालयका ७ हजार एक सय ३८ जना विद्यार्थीले एसईईको परीक्षा आवेदन फारम भरेका थिए ।