हेटौंडाः निर्वाचन आयोगको बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरका मिडियालाई निर्वाचन लक्षित अभिमुखीकरण कार्यक्रम भएको छ । निर्वाचन आयोगको प्रदेश कार्यालयका प्रमुख लुम्बानाथ चापागाईले कार्यक्रमबारे जानकारी दिनुभएको थियो । यसैगरी प्रेस काउन्सिल नेपालका चिरन्जीवी मास्केले निर्वाचनमा मिथ्या सुचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथामका बारे सहजीकरण गर्नुभयो । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति सदस्य सुनिल खड्काले निर्वाचनसँग सम्बन्धित समाचार संकलन र रिपोर्टिङका विषयमा सहजीकरण गर्नुभयो ।

निर्वाचनका मूख्य सरोकारवालाहरु, निर्वाचन कस्तो हुनुपर्छ, मिडियाको प्रभाव, निर्वाचनका बेला मिडियाको भूमिका, निर्वाचनका बेला अपनाउनुपर्ने सचेतना, निर्वाचनमा मिडियाको अनुगमन जस्ता विषयमा खड्काले जानकारी दिनुभयो । आफूले लेखेको समाचार पाठकलाई पनि विश्वसनीय हुनुपर्ने, बार्गेनिङ पत्रकारिता नभई निष्पक्ष पत्रकारिता गर्नुपर्ने उहाँको धारणा रहेको छ ।

यस्तै उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचारसंहिता २०७८ बारे सहजीकरण गर्नुभयो । निर्वाचन आचारसंहिता पूर्णपालना बिना विश्वसनीय निर्वाचन नहुने बताउनुभयो । निर्वाचनका लागि नैतिक व्यवहार र आचरण महत्त्वपूर्ण हुने जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ मकवानपुरका मणिराज गौतमले विगतदेखि निर्वाचन लक्षित सूचनाको मूल्य बढाउन आयोगलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आयोगले कारवाही गर्न नसकेको गुनासो गरेका छन् । निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिता उल्लंघन गर्ने दल र उम्मेदवारलाई आयोगले कारवाही पनि गर्नुपर्नेमा सञ्चारकर्मीले जोड दिएका थिए । आयोग मुकदर्शक बनिदिँदा निर्वाचन भड्किलो बन्दै गएको पनि सञ्चारकर्मीको भनाइ छ ।