फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा ८ कक्षाको बार्षिक परीक्षा सुरु भएको छ । पालिकास्तरीय परीक्षाको रुपमा रहेको कक्षा ८ को परीक्षा शुक्रबारबाट सुरु भएर बैशाख ११ गतेसम्म चल्नेछ । पहिलो दिनको परीक्षामा ७ सय ७५ जना विद्यार्थी सहभागी भएको मनहरी गाउँपालिकाका स्रोतशिक्षक पूर्णभद्र भुषालले जानकारी दिनुभयो ।

शैक्षिकसत्रको सुरुवातमा ८ सय ७० जना विद्यार्थी कक्षा ८ मा भर्ना भएका थिए । चैत दोस्रो साता परीक्षा फारम भर्ने विद्यार्थीको संख्या ७ सय ८५ रहेको जानकारी दिनुहुँदै स्रोतशिक्षक भुषालले परीक्षा फारम भनेका मध्ये थोरै संख्यामा मात्रै विद्यार्थी अनुपस्थित रहेको जानकारी दिनुभयो । मनहरी गाउँपालिकाले १७ वटा विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गरेर फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष तोकेर परीक्षा सञ्चालन गरेको जनाएको छ ।

मनहरी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख हरिचन्द्र सापकोटाका अनुसार ८ कक्षा सञ्चालनमा रहेका १७ वटै विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गरेर फरक विद्यालयका शिक्षकलाई परीक्षा केन्द्रको केन्द्राध्यक्ष बनाएर परीक्षा सञ्चालन गरिएको छ । परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको छ । पहिलो दिनको परीक्षा सौहाद्र्ध वातावरणमा सम्पन्न भएको उल्लेख गर्नुहुँदै शिक्षा शाखा प्रमुख सापकोटाले भन्नुभयो, ‘हामीले सबै तहको परीक्षा बैशाख ११ गतेसम्ममा सम्पन्न गर्न भनेर जानकारी गराएका छौं । सोहीअनुसार विद्यालयहरुले परीक्षा सञ्चालन गरिरहेका छन् ।’

मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक र ८ वटा संस्थागत गरी ४० वटा विद्यालय सञ्चालनमा रहेका छन् । मनहरी गाउँपालिकाका विद्यालयमा १२ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।