साहित्य लेखन र अध्ययनको आवश्यकता बुझ्न र बुझाउन कठिन छ । साहित्यका विविध विधा, साहित्यप्रति फरक फरक भुगोल, समुदाय, सामाजिक, आर्थिक पृष्ठभूमिका व्यक्तिको सहभागिताले साहित्यलाई विविधता कायम छ । यस्तो सन्दर्भमा साहित्य सिर्जना गर्नु भनेको भोलिको समाजलाई आजको समाजको जानकारी गराउने दस्तावेजको रुपमा व्याख्या गर्नुहुन्छ कवि छवि अनित्य । हालै तुइनको बाटो कृति प्रकाशित गर्नुभएका कवि छवि अनित्यसँग नवसर्जक साहित्य चौतारीका रियाज कार्की र आयुष्मा भण्डारीले गर्नुभएको कुराकानीको सम्पादित अंशः
तपाईको विचारमा साहित्य के हो ?
छविः मान्छे भित्र रहेको विचार, भावनाको अभिव्यक्ति हो साहित्य । तर कहिलेकाहीँ त्यो साहित्यलाई हामीले केका लागि प्रयोग गरिरहेका छौं भन्ने अर्थमा साहित्यको परिभाषा व्यक्तिपिच्छे फरक पर्न सक्छ । लेखेर पुस्तकको रुपमा आउने वा पत्रिकामा छापिने बित्तिकै चै त्यो साहित्य हुने नलेखी राखेको वा प्रकाशित नगरेको चै साहित्य नहुने भन्ने होईन ।
तपाई साहित्यमा कहिले र कसरी लाग्नु भयो ?
छविः म स्कुल पढ्दै गर्दा साहित्य लेख्न सुरु गरेँ । म पनि साहित्यमा लाग्न सक्छु, कविता लेख्न सक्छु भनेर आफूलाई पहिचान गरेको चैं म नौं कक्षा पढ्दादेखि हो । बाल दिवसको अवसरमा एउटा कविता प्रतियोगिता आयोजना गरिएको थियो । त्यहाँबाट कविता लेखेर औपचारिकरुपमा मैले साहित्य लेख्न सुरु गरेको थिए ।
साहित्यमा लागेपछि तपाईले कस्तो अनुभव गर्नु भएको छ ?
छविः साहित्यमा लागेर गरिने अनुभव भनेको चैं सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । सुरु–सुुरुका दिनहरुमा त्यसो भनेर लेखिँदैन । जस्तो, विद्यालयमा पढ्दै गर्दा लेखिने चैं मैले पुरस्कार पाउँछु कि भनेर लेख्ने हो । हाम्रो समाजमा विभिन्न घटनाहरु घटिरहेको हुन्छन् । ती कुराहरुलाई यसरी भन्न पाए हुन्थ्यो जस्तो लाग्छ अनि कहिलेकाहीँ चै ती घटनाहरु भन्दा पनि यो वातावरणसँग अनि आफ्नै कुनै विशेष क्षणहरुसँग आफैंले साक्षात्कार गर्न पनि कविता लेखिन्छ । त्यो भनेको चै आत्मसन्तुष्टि हो ।
साहित्यमा धेरै विधा छन् तर तपाई चै कुन विधामा कलम चलाउनु हुन्छ ?
छविः सबैभन्दा धेरै व्यक्तिले लेख्ने विधा अर्थात कविता विधामा म कलम चलाउँछु । सुरु–सुरुका दिनहरु मैले कविता, गजल, मुक्तक केहि हाईकुहरु पनि लेखेँ । कथाहरु पनि लेखेँ । तर मैले त्यति बेला लेखेको गजल गजल भएका रहेनछ । मुक्तक पनि मुक्तक भएका रहेनछ । तर मैले लेखेका कविता चै अरुले पनि अँ यो चै राम्रो कविता हो भन्न सक्ने खालका हुँदा रहेछन् भन्ने मलाई महसुस भैसकेपछि चैं मैले कविता नै लेख्न थाले ।
तपाई समसामयिक साहित्य लेखनबाट सन्तुष्ट हुनुहुन्छ ?
छविः कुनै पनि सर्जकले लेख्ने भनेको समसामयिक विषयमै हो । समसामयिक विषयबस्तुले हामीलाई छोइराखेको हुन्छ । हामी त्यसैको विषयमा बढि भन्दा बढि लेख्छौं । त्यो विषयबस्तुसँग जोडिएर लेख्न सकिएन भने श्रोताहरु, पाठकहरुको भावनालाई कहिले पनि छुन सक्दैन । त्यसले गर्दा समसामयिक विषयबस्तुसँग सम्बन्धित भएरै लेख्दै गर्दा प्रत्येक लेखकहरु सन्तुष्ट हुनु पर्छ भन्ने लाग्छ मलाई ।
साहित्य किन लेखिन्छ वा लेखिनु पर्छ ?
छविः साहित्य किन लेख्ने भन्ने कुरा एउटा जटिल प्रश्न हो । पहिला–पहिलाका धेरै राम्रा चिजहरु नलेखिएर अहिले हामीसम्म आइपुगेका छैनन् त्यसले गर्दा हामी के भनिराखेका छौं भने हाम्रो सबैभन्दा पुरानो कृति, साहित्यिक ग्रन्थ भनेको चै बेद, पुुराणहरु हुन् भनेर हामी भनिराखेका छौं । ती वेद, पुराणहरु पनि त्यतिबेलाका ऋषिमुनिहरुले लेखेर नराखिदिएका भए अहिले हामीसम्म आईपुग्ने थिएनन् । त्यस भित्र के लेखिएको छ भनेर हामीलाई थाहा हुने थिएन । त्यसले गर्दा अहिले हामीले पनि किन लेख्नु पर्छ भने अहिलेको समयमा के भइराखेको छ ? अहिलेका मान्छेहरु के सोँचिराखेका छन् ? के महसुस गरिराखेका छन् ? भन्ने बुझ्नका लागि साहित्य लेखिनु पर्छ । ताकी अहिलेको समयमा हामीले लेखिरहेको विषयलाई भोलि पर्सी सय दुई सय बर्ष पछाडि हामी भन्दा पछिल्लो पुस्ताले पढ्दै गर्दा खेरि ए त्यो बेलाको पुस्ता चैं यस्तो रहेछ त्यो बेलाको मान्छेहरु यस्तो सोँच्दा रहेछन् । हामीले त्यो विषयमा समीक्षा गर्न सक्छौं र हाम्रो समाज चै त्यति बेलाको समाज भन्दा कति विकसित छ भनेर बुझ्न सक्छौं ।