वैशाखबाट सुरु हुने विद्यालय तहको शैक्षिक सत्र चैतमा अन्त्य हुने गर्दछ । त्यसैले चैत महिनालाई विद्यालय तहको परीक्षाको महिना मानिन्छ । पछिल्लो दुई वर्षदेखि कोभिड महामारीका कारण शैक्षिक सत्र पनि केही प्रभावित बनेको छ । कोभिड महामारीका कारण भएको देशव्यापी लकडाउनका कारण २०७७ सालको शैक्षिक सत्र समयमा सुरु हुन नसकेको कारण चैतमा अन्त्य हुन पनि सकेन । फलस्वरुप २०७८ जेठसम्म शैक्षिक सत्र लम्बिएको थियो । २०७८ सालको शैक्षिक सत्र असारबाट सुरु गरिएको भए पनि कोभिडको दोस्रो तथा तेस्रो लहरका कारण केही महिना भौतिक उपस्थितिमा पठनपाठन हुन सकेन । यसले विद्यार्थीको पठनपाठनलाई प्रभावित पार्‍यो । पठनपाठन प्रभावकारी नभए पनि सरकारले चालु शैक्षिक सत्रलाई २०७९ वैशाखभित्रै अन्त्य गरी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएको छ ।

मकवानपुर जिल्लाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुमा परीक्षाको चटारो सुरु भइसकेको छ । सामुदायिक तथा निजी विद्यालयहरुमा कक्षा १ देखि १० सम्मका परीक्षा बैशाखको दोस्रो हप्ताभित्र सम्पन्न गर्नेगरी परीक्षाको तयारी भइरहेको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रका अधिकांश सामुदायिक विद्यालयहरुमा कक्षा १० र ८ बाहेकको परीक्षा आगामी आइतबारबाट सुरु हुँदैछ । कक्षा १० को अन्तिम परीक्षा (एसईई) पनि आगामी बैशाख ९ गतेदेखि सञ्चालन हुँदैछ । जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुमा एसईई परीक्षा केन्द्र पर्ने भएकाले एसईई परीक्षा सुरु हुनुअगावै अन्य कक्षाको परीक्षा सम्पन्न गर्नेगरी तयारी गरिएको छ । स्थानीय तहले सञ्चालन गर्ने आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा पनि अधिकांश पालिकाले चैत अन्तिम हप्ताबाटै सुरु गर्दैछन् । हेटौंडा उपमहानगरपालिकाले भने कक्षा ८ को परीक्षा बैशाख ८ गतेदेखि सञ्चालन गर्दैछ । यसैगरी कक्षा १२ र ११ को परीक्षा पनि जेठमा सञ्चालन हुनेछन् ।

अबको दुई साताभित्र कक्षा एकदेखि १० सम्मका परीक्षाहरु सुरु हुँदैछन् । विद्यालय तहका परीक्षा परीक्षा नजिकिएसँगै अधिकांश विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावक, स्थानीय तह तथा शिक्षा प्रशासनअन्तर्गत्का सरकारी कार्यालयहरुमा परीक्षा तयारी तिब्र बनिरहेको छ । शहरी क्षेत्रका अधिकांश विद्यालयहरुमा माथिल्ला कक्षाका विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन भइरहेका छन् । एसईईमा सहभागी हुने विद्यार्थीहरुको पूर्वतयारी परीक्षा कतै सम्पन्न भइसकेका छन् भने कतै चलिरहेको छ । परीक्षालाई धेरैजसो विद्यार्थीले बोझको रुपमा लिने र आत्तिने गरेको पाइन्छ । विद्यार्थीले वर्षभरि पढेका र सिकेका कुराहरुबाट सोधिने प्रश्नहरुको उत्तर २–३ घण्टाभित्र उत्तरपुस्तिकामा लेख्नुपर्ने हाम्रो परीक्षा प्रणाली हो । विद्यार्थीले आफ्नो शैक्षिक यात्राको क्रममा थुप्रै परीक्षा दिने गरेको भए पनि उनीहरुले परीक्षा हाउगुजी मान्ने गर्दछन् ।

परीक्षा भनेको एउटा कक्षा वा तह पार गर्न पूरा गर्नुपर्ने नियमित प्रक्रिया हो । विद्यार्थीले वर्ष दिनभरि पढेका विषयवस्तुबाट उनीहरुले हासिल गरेको ज्ञान, सीप, धारणा, प्रयोग आदि मापन गर्न परीक्षा लिइन्छ । परीक्षाले विद्यार्थीको स्तर मापन गर्ने भएकाले यसप्रति अलि संवेदनशील बन्नुपर्छ । साथै, हरेक विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षा प्रशासन सबैले परीक्षालाई पठनपाठन प्रक्रियाअन्तर्गत्को एउटा नियमित र स्वभाविक कार्यको रुपमा बुझ्नु आवश्यक छ । विशेषगरी विद्यार्थीहरुले परीक्षालाई लिएर आत्तिनु, अनावश्यक डर, त्रास लिनु हुँदैन । परीक्षालाई सामान्य ठान्दै आफूले पढेका विषयवस्तुको सृजनात्मक तरिकाले उत्तर दिनुपर्छ ।