हेटौंडाः पछिल्लो समय देश नै आर्थिक समस्याबाट गुज्रिएको अवस्थामा सहकारी संस्थाहरु पनि त्यसबाट अछुतो हुन सकेका छैनन् । मकवानपुर जिल्लामा रहेका सहकारी संस्थाहरुमा पनि तरलताको अभाव देखिएको छ । जिल्लामा रहेका सहकारीहरुको बचत संकलन घट्न थालेको र भएको बचत पनि सदस्यहरुले निकाल्न थालेको सहकारी संस्थाका अध्यक्षहरुको भनाइ छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले समग्र आर्थिक क्षेत्रमा संकटको स्थितिमा सहकारीमा पनि तरलता अभाव देखिएको बताउनुभयो । तरलता अभावका बीच पनि सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न संघले सदस्य संस्थालाई उचित निर्देशन दिँदै आवश्यक पर्यवेक्षणको काम पनि गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । अहिले प्रारम्भिक सहकारीलाई २० प्रतिशत तरलता कायम हुने गरी कारोबार गर्न जानकारी गराइरहेको उल्लेख गर्नुहुँदै श्रेष्ठले भन्नुभयो, ‘तरलता संकटका बेला सचेत भएर कारोबार गर्न र सेयर सदस्यलाई जोखिमको समयमा तरलताको अवस्थाबारे जानकारी गराउन भनिरहेका छौं । हामी संकटका बेला पनि समस्या जटिल नबनोस् भनेर सजग छौं ।’
सहकारी संस्थामा कम्तिमा १५ प्रतिशत तरलता आवश्यक भएपनि वर्तमान समयमा त्यो भन्दा कम तरलतामा संस्था सञ्चालन भइरहेको छ । तरलता अभाव हुन थालेपछि सहकारीहरुले पनि अत्यावश्यक अवस्थाका सदस्यहरुबाहेकलाई ऋण लगानी रोकेका छन् । नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहालका अनुसार सहकारी सदस्यमा आधारित संस्था भएपनि तरलताको अभावका कारण सहकारीमा समस्याहरु बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीहरु सदस्यको घरदैलोमै पुगेर स—साना बचत संकलन गर्ने भएकाले बचतको आधार बलियो मानिन्छ । विगतमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव हुँदासमेत सहज अवस्थामा देखिएका सहकारी संस्थाहरु यसपटक भने समस्यामा पर्न थालेका छन् ।” उहाँले सहकारी क्षेत्रको अवस्था दर्दनाक देखिएको बताउनुभयो । उहाँले थप्नुभयो, “सदस्यहरु ऋण माग्न आउनुहुन्छ । ऋण दिन सकिएको छैन । सामान्य हिसाबले ३० लाख लगानी गथ्र्यौ । अहिले ३/४ लाखमा झर्नु परेको छ ।”
सहकारीलाई व्यवस्थित बनाउन राज्यले सहकारी क्षेत्रलाई लगानीको दायरा बढाउनुपर्ने उहाँको भनाइ छ । सदस्यहरु बैंकभन्दा सहकारीमा आकर्षित रहेको भन्दै उहाँले राज्यको ध्यान बैंकतर्फमात्र रहेको औंल्याउनुभयो । सर्वसाधारणका लागि बैंकभन्दा सहकारी संस्था सहज भएको भन्दै उहाँले सदस्यहरुले सहकारीमा आबद्ध भएपछि राम्रो सेवा सुविधा पाएको दावी गर्नुभयो । सहकारी क्षेत्रमा एक व्यक्ति एक सहकारी संस्था भनिएको भएपनि त्यसलाई कार्यान्वयनमा चुनौती रहेको उहाँले बताउनुभयो । सहकारी पनि बैंकजस्तै धेरै वटा सहकारीबाट कारोबार गर्न पाउने व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ । सहकारी क्षेत्रमा सदस्यहरुको अवसर धेरै रहेको भन्दै उहाँले सहकारीमा गरेको लगानीको मुनाफा सदस्यहरुले पाउने जानकारी दिनुभयो ।
यस्तै, हेटौंडा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामशरण गौतमले सहकारीमा तरलताको समस्या रहेको जानकारी दिनुभयो । सदस्यहरुको क्रयशक्ति कम भएर बचत गर्न नसक्ने अवस्थामा रहेको भन्दै उहाँले सदस्यहरुलाई ऋण दिन नसकेको बताउनुभयो । अति आवश्यक अवस्थामा मात्र ऋण उपलब्ध गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित बचत गर्दा पुँजी फाइदा हुन्छ । सदस्यहरुमा बचत गर्ने बानिको विकास हुन्छ । वित्तीय साक्षरता हुन्छ । आवश्यकता पर्दा घरायसीसँगै व्यावसायिक ऋण लगानी गर्न सकिन्छ ।” सहकारीले व्यक्तिहरुलाई संगठित हुन सिकाउने भन्दै उहाँले उस्तै–उस्तै व्यक्तिहरु मिलेर सहकारी सञ्चालन गर्ने बताउनुभयो । सहकारीका शेयर सदस्यहरु नै सहकारीको मालिक हुने हुनाले आफैं निर्णय गर्ने वातावरण सहकारीमा हुन्छ । सहकारीमा दोहोरो सदस्यताको समस्या छ । सरकारले तीनखम्बे अर्थतन्त्रको रुपमा राखेपछि सोहीअनुसार सेवा सुविधामा सहजता ल्याउन नसक्नु सहकारीको चुनौतीको विषय रहेको उहाँले बताउनुभयो ।
जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेका अनुसार सहकारीमा सहजै ऋण पाउने, सहकारीले आफ्नो सदस्य केन्द्रित सेवा प्रदान गर्ने र समुदायमा निहित हुने भएकाले सहकारीप्रति आकर्षण बढ्दो रहेको छ । सहकारीले सदस्यहरुको सबै किसिमको समस्याहरु हेर्ने भएकाले पनि परिवारको अनुभूति दिलाउँछ । सहकारीको लगानी सदस्यहरुका लागि रहेको उहाँले स्पष्ट पार्नुभयो । नारायणी बहुउद्देश्यीय सहकारी संस्थामा स्थापनादेखि नै सक्रिय रहनु भएका न्यौपानेले सहकारीहरु सानो पुँजीबाट सञ्चालन हुने बताउनुभयो । बहुउद्देश्यीय सहकारी संस्थाहरुले स्थापनाको सुरुवातमा व्यवसाय प्रतिस्पर्धा गर्नुपर्ने, सदस्य वृद्धि गरी संस्थामा पुँजी बढाउनुपर्ने चुनौती आउने उहाँले बताउनुभयो । सहकारीमा चोरी, डकैती, ट्याक्स बढी तिर्नुपर्ने चुनौती धेरै रहेका छन् ।
जिल्लामा ६२ वटा बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा रहेकोमा ३० वटा सहकारी संस्था सक्रिय रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । राज्यको नयाँ संघीय ऐनमा ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा र ७० प्रतिशत अन्य क्षेत्रमा कारोबार गर्न पाउने भनेर व्यवस्था गरिएकोमा अहिले ७० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्थाले साना सहकारीहरु समस्यामा रहेको बताउनुभयो । राज्यको यस्तो बाध्यात्मक व्यवस्थाले न्यून पुँजीको सहकारीलाई समस्या पर्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सहकारी संस्थाहरु उत्पादनसँग केन्द्रित हुन चाहन्छन् । तर, ठूलो व्यवसाय र ठूलो उद्योग सञ्चालन गर्ने क्षमता भएका सहकारी थोरै छन् । उनीहरुलाई सरकारको नीतिले गर्दा समस्या छ ।’
सहकारीमा अर्को समस्याको रुपमा दोहोरो सदस्यता रहेको छ । सदस्य संख्या कम भएका कारण भोलिका दिनमा कतिपय सहकारी बन्द हुने अवस्थामा रहेको उहाँको भनाइ छ । राज्यले सहयोग गरेन भने ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई समस्या हुने देखिएको छ । राज्यले उत्पादनमूलक क्षेत्रमा सहकारी लगानी बढाउन अनुदानको कार्यक्रम ल्याएर औद्योगिक उत्पादनतर्फ लाग्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।