हेटौंडाः “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नारासहित आज ६५औं राष्ट्रिय सहकारी दिवस देशभरी भव्यताका साथ मनाईदैछ । सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै चैत २० गते देशभरी राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
नेपालमा ३४ हजार भन्दा बढी सहकारी संस्थाहरु संचालनमा रहेका छन् । बागमति प्रदेशमा १० हजार ४ सय १८ वटा सहकारी संस्था संचालनमा रहेका छन् । जसमा १४ लाख ७ हजार महिला सदस्य आबद्ध भएका छन् भने १२ लाख ६० हजार पुरुष सदस्यहरु आबद्ध भएका छन् । बागमति प्रदेशमा ५१ अर्ब ४० करोड ६४ लाख रुपैयाँभन्दा बढी शेयर पुँजी रहेको बागमति प्रदेशको तथ्याङ्कले देखाउँछ । यस्तै, प्रदेशमा २ अर्ब १४ अर्ब ६६ करोड २२ लाख रुपैयाँभन्दा बढी कुल बचत, १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाखभन्दा बढी रुपैयाँ कुल ऋण लगानी रहेको तथ्याङ्कमा उल्लेख छ ।
बागमति प्रदेशमा सहकारी संस्थामा ३३ हजार ८ सय ९२ जना प्रत्यक्ष रोजगारी रहेको देखिन्छ । यस्तै, प्रदेशमा स्थानीय तहमात्र कार्य क्षेत्र भएका सहकारी संस्थाहरु ७ हजार ८ सय छन् भने प्रदेश कार्यक्षेत्र भएका सहकारी संस्था २ हजार ६ सयवटा रहेका छन् । बागमति प्रदेशको कूल जनसंख्या ५५ लाख २९ हजार ४ सय रहेकोमा जम्मा सहकारी संस्थामा आबद्ध सदस्य २७ लाख १७ हजार ४ सय जना रहेका छन् । यसरी हेर्दा कुल जनसंख्याको ४९ दशमलब १४ प्रतिशत जनसंख्या सहकारीमा आबद्ध रहेको तथ्याङ्कले देखाउँछ ।
आज हेटौंडामा बागमति प्रदेश स्तरीय कार्यक्रम गरेर सहकारी दिवस मनाईदैछ । बिहान ७ः३० बजे भुटनदेवी माध्यामिक विद्यालयको चौरबाट र्याली हेटौंडा बजार परिक्रमा गर्नेछ । र्याली रोयल पार्टी प्यालेसमा गएर प्रवचन गर्दै उत्कृष्ट सहकारीहरुलाई सम्मान वितरण गर्ने कार्यक्रम रहेको छ । यस्तै, साँझ बागमति प्रदेश भरका सहकारी संघ, संस्थाहरुमा दीप प्रज्ववलन गरी दिवसको समापन गर्ने ६५औं राष्ट्रिय सहकारी दिवस २०७८ मुल समारोह समितिले जनाएको छ ।