हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा बसोबास गर्दै आउनु भएका गंगा लम्सालले जीविकोपार्जनका लागि व्यावसायको रुपमा बाख्रापालन गर्दै आउनु भएको छ । बोयर जातको खसीलाई ३ महिना पालेर बेच्दा एउटै खसीबाटै ६० हजार रुपैयाँ आर्जन भएको कृषक लम्सालले बताउनुभयो । बोयर बाख्रालाई २ देखि ४ महिना पालेर बेच्ने गरेको उहाँले बताउनुभयो ।
विगत ३ वर्षअगाडि सहकारी संस्थाबाट ३५ लाख रुपैयाँ ऋण निकालेर एक–एक महिनामा २५ हजारको दरले किस्ता तिर्दै बाख्रा पालन गर्दै आउनु भएको उहाँ बताउनुहुन्छ । महिनामा बाख्राहरुको लागि ५० रुपैयाँ किलोको दरले दाना र चोकरमा मासिक ३० हजार लगानी लाग्दा महिनामा २० देखि ३० हजार बाख्राबाटै आर्जन हुने लम्सालले बताउनुभयो । उहाँले बाख्रापालन सँगसँगै गाई र भैंसीलाई पनि व्यवसायकै रुपमा गर्दै दुग्ध उत्पादन गरी बिक्रि गरेको उहाँले प्रष्ट्याउनु भयो ।
उहाँले दैनिक जीविकोपार्जन गर्ने माध्यम नै पशुपालन र कृषि रहेको बताउनुभयो । व्यवसाय सञ्चालन गर्दा पालिकाको भने कुनै पनि अनुदान नभएको र आफैंले हातेमालो गरेर अगाडि बढेको उहाँले बताउनु भयो । जीविकोपार्जन गर्न उहाँले अर्को व्यवसाय पनि अपनाउनु भएको छ । आफ्नो जग्गामा विगत १ वर्षदेखि १२ सय ड्राइगनफुडको खेती गर्नु भएको उहाँले बताउनुभयो । ड्राइगनफुडको खेतीबाट भने बाख्रा पालनभन्दा बढी आर्जन नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “परिवारको दैनिक जीवनयापन गर्ने आधार नै बाख्रापालन र कृषि रहेको र घर व्यवहार पनि यहि सानो व्यवसायले चलिरहेकोे छ ।” आगामी दिनमा कृषि वयवसायलाई निरन्तरता दिने र सानो व्यवसायलाई मझौला व्यवसायको रुपमा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।