निमेष निखिल
यो हप्ता हेटौँडा साहित्यिक हिसाबले महोत्सवमय बनेको छ । फागुन २० र २१ गते हेटौँडा नारी सर्जकहरूको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको बृहत् साहित्य महोत्सवले उत्सवमय बन्यो भने आज फागुन २७ र २८ गते झरना साहित्यिक परिवारले बकैया साहित्य महोत्सव सम्मान गर्दैछ ।
पछिल्ला केही वर्षहरूदेखि नेपालका विभिन्न भागहरूमा साहित्य महोत्सव गर्ने एक प्रकारको लहर नै चलेको छ जुन लेखकहरूका लागि खुसीको विषय पनि हो । यस्ता महोत्सवहरूमा कार्यपत्रहरू प्रस्तुत गर्ने, विविध सामयिक तथा साहित्यिक विषयहरूमा प्यानल डिस्कसन गर्ने, विज्ञ वक्ताहरूका भनाइ राख्ने, विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने र रचना वाचन गर्ने आम चलन रहेको छ ।
यस्ता साहित्यिक महोत्सवहरूमा उठाइनु पर्ने मुद्दाहरू के–के हुने, कस्ता कार्यक्रमहरू समेट्दा बढी प्रभावकारी हुने र इतर साहित्यिक आम मानिसलाई कसरी साहित्यतर्फ आकर्षित गर्ने लगायतका विषयमा आयोजकहरूले खासै सोचेको पाइएको छैन । कतिपय सन्दर्भमा रचना वाचनलाई नै महोत्सवको नाम दिने गरिएको पनि छ । सबैतिर गर्न थालेका छन् हामी पनि गरौँ न’ भन्ने हुटहुटीले पनि ठाउँ–ठाउँमा महोत्सवहरू नभएका हैनन् ।
मकवानपुरका सन्दर्भमा कुरा गर्दा वि.स. २०४१ सालमा मकवानपुर साहित्य परिषद्ले आयोजना गरेको कविशिरोमणि लेखनाथ पौड्यालको शतवार्षिकी समारोहको कार्यक्रम हेटौँडाको पहिलो महोत्सवमय कार्यक्रम हो भन्ने धारणा लुम्बिनी तथा बौद्ध संस्कृतिका आधिकारिक विद्वान् वसन्त बिडारी र अग्रज साहित्यकारद्वय तुल्सी थापा र गोविन्द गिरी प्रेरणा राख्नुहुन्छ । यद्यपि त्यो कार्यक्रमलाई महोत्सव भनिएको थिएन ।
अब हेटौँडामा साहित्यिक महोत्सव गर्दा हरेक साहित्यक संस्थाले जिल्लाबाहिरबाट सहभागीहरूलाई कम्तीमा यहाँका दर्शनीय स्थलहरूको भ्रमण गराउने, यहाँका महत्वपूर्ण र पृथक् संस्कृतिको पहिचान झल्किने गरी सांस्कृतिक कार्यक्रमहरू गर्ने गरेमा महोत्सवहरू बढी फलदायी हुने छन् । उदाहरणका लागि आँचलको कार्यक्रम आउनुभएका कवि तथा गीतकार भूपाल राईले ठट्यौली गरेजस्तो गरी गम्भीर कुरा गर्नुभयो– “भाइ त्यो मकवानपुरगढी भनेको कता हो हौ ? त्यो देखाउने कार्यक्रम छैन ?”
हेटौँडामा आउने कवि, लेखकलाई हामीले सहिद स्मारक, मकवानपुरगढी, गुम्बाडाँडा, पाथीभरा, मनकामना मन्दिर आदिजस्ता स्थान नै देखाउन सकिएन भने हामीले महोत्सव गरेको र त्यो सफल भएको परिकल्पना कसरी गर्नु !
बकैया साहित्य महोत्सव मूलतः गाउँकेन्द्रित साहित्य अभियान हो । यस संस्थाका अध्यक्ष दीपक गौतम नवप्रतिभा प्रस्फुटनमा दिलोज्यानले लागेका स्रष्टा हुन् । उनकै अथक सत्कर्मबाट बकैया साहित्य महोत्सवको तेस्रो शृङ्खला सम्पन्न हुँदैछ । यस कार्यक्रमको भव्य सफलताको शुभकामना छ ।
(निमेष निखिल सर्जक सञ्जाल मकवानपुरका संयोजक हुनुहुन्छ ।)