१. स्थापना र सुरुवाती दिनहरू ः
महेन्द्र मावि, छतिवनमा रमेशमोहन अधिकारी शिक्षकको रूपमा प्रवेश गर्नुभएपछि उहाँकै अगुवाइमा उद्धवप्रसाद सापकोटा र पछि परशुराम गौतम, जनाद्र्धन खनाललगायतका शिक्षकहरूको अग्रसरतामा २०५० साल फागुन १२ गते तत्कालीन छतिवन–६ र हालको बकैया–४ स्थित महेन्द्र माविमा झरना साहित्यिक परिवार, छतिवन नामको साहित्यिक संस्थाले जन्म लियो ।
संस्था स्थापनापश्चात् झसापले छतिवन आसपासका साहित्यप्रेमी र विद्यार्थीको सहभागितामा नियमित साहित्य गोष्ठी आयोजना गर्ने, झरना नामक सुरुमा हवाइ र पछि पुस्तककाकार रूपमा अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गर्ने गर्न थाल्यो भने हरेक वर्ष स्थापना दिवस (फागुन १२) का दिन बृहत् साहित्य गोष्ठी आयोजना गर्न थाल्यो । यो क्रम २०५० को दशक अर्थात् रमेशमोहन सर छतिवन रहँदासम्म नियमित रह्यो । २०६० को दशकमा भने विविध कारणले यसको गतिविधि सुस्तायो । पछि हेटौँडा पढ्न गएका छतिवने युवाहरूले २०६४ मा झरना–हेटौँडा सेतुको नामले त्रैमासिक रूपमा मुक्तकविशेष कार्यक्रम गरेर यसको अस्तित्वलाई जोगाउने काम गरे । पछि २०६८ मा तत्कालीन अध्यक्ष उद्धवप्रसाद सापकोटाकै नेतृत्वमा युवाहरू मूल संस्थामै समाहित भएर झरनाको नेतृत्व सम्हाल्ने अवस्थामा आइपुगे र २०७१ साल भदौ २० द. न. १६२५ मा संस्था दर्ता गरेर अघि बढे । युवा पुस्ताको नेतृत्वमा झरनाले अहिले बहुआयामिक गतिविधि सञ्चालन गर्दै यसको गरिमालाई थप उचाइमा पु¥याउने काम गरिरहेको छ ।

२. झरनाका हालका गतिविधिहरू ः
२.१ नियमित मासिक साहित्य शृङ्खला ः
झरनाले स्थापनाकालदेखि नै मासिक साहित्य गोष्ठीको नामले कार्यक्रम गर्दै आइरहेकोमा पछिल्लो समय मासिक साहित्य शृङ्खलाको नामबाट कार्यक्रम हुँदै आएको छ । हाल २७४ वटा मासिक साहित्य शृङ्खला सम्पन्न गरेको झरनाले आज र भोलिको महोत्सवलाई २७५ औँ साहित्य शृङ्खलाको रूपमा सम्पन्न गर्दै छ । सुरुवाती दिनहरूमा महेन्द्र मावि छतिवन र आसपासका स्थानमा कार्यक्रम गर्ने गरेकोमा हाल यसले बकैया गाउँपालिकाअन्तर्गतका धियाँल, शिखरपुर, ठिङ्गन, मन्थली र छतिवनका अधिकांश आवि र माविका साथै हेटौँडा उपमहानगरपालिकाका २० वटा भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयका साथै आग्रा, नामटार, चित्लाङ, मकवानपुरगढीलगायतका गाउँपालिकामा समेत पुगेर कार्यक्रम सम्पन्न गरिसकेको छ । झरना हेटौँडा–सेतुले गरेका १८ वटा मुक्तक साँझ (टिकटमा मुक्तक कार्यक्रम) ले पनि झरनाको नियमित शृङ्खलालाई कुनै समय जोडेर झरनाको अस्तित्व जोगाउने काम गरेको कुरा यहाँ अविस्मरणीय छ ।

२.२ सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान, बालसाहित्य समिति गठन एवम् परिचालन ः
साहित्यका पारखी नयाँ पुस्तामा पठन तथा लेखन संस्कृतिको विकास गर्ने उद्देश्यले झरनाको मासिक साहित्य शृङ्खलाकै क्रममा जिल्लाका हेटौँडा उपमहानगर र गाउँपालिकाका गरी ६० बढी विद्यालय र क्याम्पसमा पुगी काव्य प्रशिक्षणअन्तर्गत हाइकु, मुक्तक, गजल र कविता (बद्ध र मुक्त लयका) विधाको प्रशिक्षण गराई बालसाहित्य समिति गठन गर्ने अभियानलाई तीव्रता दिएको छ । जिल्लाका विभिन्न विद्यालयका साथै बकैया गाउँपालिकाअन्तर्गतका ११ वटा सामुदायिक विद्यालयमा झरना र विद्यालयको नामबाट बालसाहित्य समिति गठन गरी ती समितिको उपयुक्त परिचालनका लागि झरना–बकैया बालसाहित्य परिचालन समिति गठन गरिएको छ र यसमार्फत् सबै बालसाहित्य समितिआबद्ध भाइबहिनीलाई अनलाइन तथा अफलाइन माध्यमबाट साहित्यका विविध विधाको प्रशिक्षण एवम् प्रतियोगिता सञ्चालन गर्नुका साथै विद्यालयमा समेत नियमित साहित्यिक गतिविधि गर्न, भित्ते पत्रिका प्रकाशन गर्न, झरनालगायत अन्य साहित्यिक सङ्घसंस्थाका कार्यक्रममा सहभागी हुन उत्प्रेरित गरिएको छ र यिनै मापदण्डका आधारमा उत्कृष्ट बालसाहित्य घोषणा गरी पुरस्कृत गर्ने क्रमको थालनीसमेत गरिएको छ भने बकैयाका सक्रिय शिक्षकलाई समेत सम्मान गर्ने क्रमको थालनी गरिएको छ, जसअन्तर्गत आजै झरना महेन्द्र बालसाहित्य समिति र शिक्षक हरिप्रसाद घिमिरे सम्मानित हुँदै हुनुहुन्छ ।

२.३ विशेष एवम् विधाविशेष कार्यक्रम ः
झरनाले स्थापनाकालदेखि नै स्थापना दिवसको दिन बृहत् साहित्य गोष्ठी गर्दै आएको र उक्त सन्दर्भमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकारहरुलाई सम्मान÷अभिनन्दन गर्दै आएकोमा हाल बृहत् साहित्य गोष्ठीलाई थप विस्तार गर्दै बकैया गाउँपालिकाको प्रायोजनमा २०७६ सालदेखि बकैया साहित्य महोत्सव गर्न सुरुवात गरिएकोछ । अझ यसै वर्षदेखि स्थानीय कला–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गर्दै छ । यस क्रममा १० जना स्रष्टा तथा एउटा संस्थालाई सम्मान, कृति विमोचन, बहसमूलक कार्यक्रम, देशभरका पाँच दर्जनबढी कवि साहित्यकारबाट कविता, गीत, गजल, मुक्तक, वाचन तथा गायन, साँस्कृतिक झाँकी, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी तथा पुस्तकालय स्थापनाको विशेष कार्यक्रमसहित बकैया कला–साहित्य महोत्सव सम्पन्न गर्दै छ । त्यस्तै हरेक वर्ष चैत महिनाको चौथो शनिबार मुक्तक साँझ (टिकटमा मुक्तक कार्यक्रम) समेत आयोजना गर्दै आएको छ । यसका अलावा समेत समयसमयमा विभिन्न कवि, गजलकार, मुक्तककार, गायक तथा कलाकारलाई निम्त्याएर विशेष कार्यक्रमहरू गर्दै आएको छ । यसका साथै लघुकथा, पाण्डुलिपि विमर्श, पुस्तक समीक्षालगायत विभिन्न कार्यक्रमहरू समेत झरनाले समय–समयमा गर्दै आएको छ ।

२.४ पत्रिका प्रकाशन ः
स्थापनाकालदेखि नै त्रैमासिक रुपमा १२ अङ्क झरना नामक हवाइ पत्रिका प्रकाशन गरी तेह्रौँ अङ्कदेखि पुस्तकाकार रूपमा पत्रिका प्रकाशन गर्दै आएकोमा हाल ३७ वटा अङ्क प्रकाशन भइसकेको छ । बिचका केही वर्षहरूमा आर्थिक अभावका कारण अर्धवार्षिक रूपमा समेत प्रकाशन गर्न कठिनाइ भएपछि वार्षिक रूपमा प्रकाशन गर्नुपरेकाले यसको कूल अङ्क ६० बढी हुनुपर्नेमा सो भने हुन सकेको छैन । पत्रिकालाई सुरुवाती दिनहरूमा रमेशमोहन अधिकारी, उद्धवप्रसाद सापकोटा, जनाद्र्धन खनाल, सुवास खनाल, दीपक गौतमले सम्पादन गर्दै आउनुभएकामा हाल यसको सम्पादन विश्वनाथ सञ्जेलबाट हुँदै आएको छ । यस क्रममा छतिवन विशेष अङ्क, झरना विशेष अङ्क, रजत वर्ष विशेषाङ्क, सम्मानित स्रष्टा विशेषाङ्क, बालसाहित्य विशेषाङ्क, मनोज ढकाल स्मृति अङ्क आदि विशेष अङ्कहरू प्रकाशन भइसकेका छन् । यसका साथै झरना छतिवनमा निष्क्रिय रहेका बखत हेटौँडाबाट झरना–हेटौँडा सेतुले दुई अङ्क मुक्तक मञ्जरी प्रकाशन गरेको कुरा यहाँ स्मरणीय छ । निकट भविष्यमा झरनालाई त्रैमासिक रूपमा प्रकाशन गर्ने योजना बनाइएकोमा झरनाका विशिष्ट आजीवन सदस्य अमेरिका निवासी वासुदेव खनाल र सम्झना आचार्यले वार्षिक ने. रु. ५०,००० उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएपछि पत्रिका प्रकाशनमा निकै राहत मिलेको छ र उहाँहरूलाई पत्रिकाको संरक्षक राखी झरना नियमित रूपमा प्रकाशन हुँदै आएको छ ।

२.४ कृति प्रकाशन कोष, प्रकाशन एवम् बजारीकरण ः
झरना साहित्यिक परिवारको संरक्षणमा रहने गरी यसका आजीवन सदस्यहरुका बिच प्रतिव्यक्ति रु. ५,००० सङ्कलन गरेर झरना कृति प्रकाशन कोष स्थापना गरिएको छ, जसमा अहिले १२ जना सदस्यहरू हुनुहुन्छ । यस कोषले वर्षमा २ वटासम्म कृति प्रकाशनका लागि कृतिकारलाई ६ महिनासम्म निव्र्याजी रकम सापटी दिने गर्दछ । साथै झरना साहित्यिक परिवार मकवानपुरलाई प्रकाशक राख्ने कृतिकारहरूको कम्तीमा प्रतिव्यक्ति १ हजारका दरले पुस्तक बिक्री गर्ने नियम बनाई लागू गरेको छ । यस क्रममा रमेशमोहन अधिकारीका घुम्तीहरू छेलिएपछि र आफैँसँग (नियात्रा तथा संस्मरण सङ्ग्रह), विश्वनाथ सञ्जेलका क्षितिज यात्रा (मुक्तक सङ्ग्रह) र फर्कियौ किनारबाट (गजल सङ्ग्रह), दीपक गौतमको विसङ्गत वर्तमान (मुक्तक सङ्ग्रह), तथा शारदा मञ्जरी ओली र भोला शिवाकोटीको गोधूलि चिन्तन (संयुक्त गजल सङ्ग्रह) गरी ६ वटा कृति प्रकाशन गरिसकेको छ । आगामी दिनमा अझ धेरै कृति प्रकाशन गर्ने योजना रहेको छ ।

२.५ पुरस्कार तथा सम्मान ः
झरना साहित्यिक परिवारमार्फत् नियमित मासिक शृङ्खलाका क्रममा बालबालिकालाई दिइने सामान्य पुरस्कारका अलावा विभिन्न पुरस्कार संस्थापकबाट स्थापित पुरस्कारहरू राष्ट्रिय, जिल्ला एवम् स्थानीयस्तरका अग्रज, युवा एवम् नवपुस्तालाई समर्पण गर्दै आइएको छ । ती पुरस्कारहरू निम्नानुसार छन् ः
१. होमनाथ–टीकामाया प्रतिभा सम्मान ः पुरस्कार संस्थापक ः साहित्यसेवी नुरप्रसाद गौतम, नगद रु. २१,१२१ सहित सम्मानपत्र । यो पुरस्कार राष्ट्रियस्तरका अग्रज साहित्यकारलाई हरेक वर्ष प्रदान गर्दै आइएको छ ।
२. शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान ः पुरस्कार संस्थापक ः रमेशमोहन अधिकारी, नगद रु. १५, ५५५ सहित सम्मानपत्र । यो पुरस्कार राष्ट्रियस्तरका मुक्तककारलाई प्रदान गर्दै आइएको छ ।
३. बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान ः पुरस्कार संस्थापक ः साहित्यसेवी विनोद सुवेदी, नगद रु. १५,५५५ सहित सम्मानपत्र । यो पुरस्कार मकवानपुर जिल्लाका अगुवा साहित्यकारलाई हरेक वर्ष प्रदान गर्दै आइएको छ ।
४.खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान ः पुरस्कार संस्थापक ः साहित्यसेवी अर्पण÷दर्पण पराजुली, नगद रु. ७,७७७ र सम्मानपत्र । यो पुरस्कार युवा पुस्ताका सर्जकलाई हरेक वर्ष प्रदान गर्दै आइएको छ ।
५. सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान ः पुरस्कार संस्थापक ः साहित्यसेवी राजन दङ्गाल, नगद रु. ७,७७७ सहित सम्मानपत्र । यो पुरस्कार मकवानपुर जिल्लाका नारी साहित्यकारहरुलाई हरेक वर्ष प्रदान गर्दै आइएको छ ।
६. सञ्जीवनी बुटी साहित्य सेवा सम्मान ः पुरस्कार संस्थापक ः साहित्यसेवी तुलसी गिरी, नगद रु. ७७७७ सहित सम्मानपत्र । यो पुरस्कार विभिन्न किसिमबाट साहित्यको सेवा गर्ने साहित्यसेवीहरुलाई प्रदान गर्दै आइएको छ ।
७. झरना–बकैया पत्रकारिता सम्मान ः पुरस्कार संस्थापक ः झरना साहित्यिक परिवार स्वयम्, नगद रु. ७,७७७ सहित सम्मानपत्र । यो पुरस्कार मकवानपुरमा रही योगदान गरेका÷गरिरहेका पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरिएको छ ।
८. खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान ः पुरस्कार संस्थापक ः भक्तबहादुर खत्री, नगद रु. ७,७७७ सहित सम्मानपत्र । यो पुरस्कार मकवानपुर जिल्लाका कला साधकहरूलाई प्रदान गर्ने गरी यसपालिबाट सुरुवात गरिएको हो ।
९. झरना–बकैया नवप्रतिभा सम्मान ः पुरस्कार संस्थापक ः चन्द्रकुमार राई ः नगद रु. ५००५ सहित सम्मानपत्र । यो पुरस्कार मकवानपुर जिल्लाका उदीयमान प्रतिभालाई दिइँदै आइएको छ ।

२.६ जग्गा प्राप्ति र भवन निर्माण योजना ः
२८ वर्षसम्म बिनाकार्यालय झोलाबाटै सञ्चालित झरना साहित्यिक परिवार मकवानपुरको आफ्नै कार्यालय, सभाहल तथा व्यवस्थित पुस्तकालयसहितको दुई तले भवन निर्माणका लागि गत वर्षमात्रै बकैया–५ राजदमारमा दुई कठ्ठा जग्गा प्राप्त भएको छ । सोवापत जग्गादाताहरू आशाकाजी दोङ र बिलबहादुर जिम्मालाई गत वर्षको महोत्सवमा सम्मानसमेत गरिएको छ । शिलान्यास कार्यक्रम समेत गरिसकिएको उक्त जग्गामा पालिका, प्रदेश सरकार, सङ्घीय सरकार तथा अन्य दाताबाट सहयोग जुटाई आगामी एक वर्षभित्र भवन निर्माण सक्ने योजना रहेको छ ।

२.७ हेमराज पहारी स्मृति पुरस्कार प्राप्ति र ऊर्जा ः
झरना साहित्यिक परिवार मकवानपुरको बहुआयामिक गतिविधिको मूल्याङ्कन गर्दै गत वर्ष फागुन १७ गते पोखराको प्रतिष्ठित संस्था हेमराज पहारी स्मृति प्रतिष्ठान, पोखराबाट नगद रु. १,००,००० (एक लाख) राशिसहितको हेमराज पहारी स्मृति पुरस्कार यस संस्थाले प्राप्त गरेको छ । विशिष्ट गरिमा बोकेको राष्ट्रियस्तरको यो पुरस्कार प्राप्तिले झरनालाई थप ऊर्जा मिलेको छ ।

३. झसाप र बकैया गाउँपालिका ः
बकैया गाउँपालिकामै जन्मेर बकैया गाउँपालिकालाई नै केन्द्रबिन्दुमा राखेर अघि बढिरहेको यस झरना साहित्यिक परिवार मकवानपुर र बकैया गाउँपालिकाबीच परिपूरक सम्बन्ध रहेको छ भन्दा अत्युक्ति नहोला । झसापका गतिविधिका कारण बकैया गाउँपालिकाको चिनारी एउटा साहित्यिक गाउँको रूपमा सिङ्गो देशमै सुपरिचित छ भने बकैया गाउँपालिकको निरन्तर अभिभावकत्व र आर्थिक सहयोगका कारण झरनाले पुष्पित र पल्लवित हुने अवसर प्राप्त गरेको छ । अझ यसो भनौँ, मकवानपुर जिल्लाका सबै स्थानीय तहभन्दा बकैया गाउँपालिकाले साहित्य कला क्षेत्रलाई माया गर्ने गरेको छ । यसमा तत्कालीन छतिवन गाविसका जनप्रतिनिधि तथा हालका पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पूर्ण सामाजिक राजनीतिक अगुवाहरूको सदासयताले विशेष भूमिका खेलेको छ । झसाप र पालिकाबीचको यो सम्बन्धलाई अझ प्रगाढ बनाई राख्नु दुवैका लागि आवश्यक छ ।

४. स्थानीय प्रज्ञा प्रतिष्ठान र झसाप ः
यसरी, सहर र गाउँकेन्द्रित नियमित मासिक साहित्य शृङ्खला सञ्चालन, अर्धवार्षिक साहित्यिक पत्रिकाको नियमित प्रकाशन, सिर्जनशील नयाँ पुस्ता निर्माण अभियानअन्तर्गत काव्य प्रशिक्षण, बालसाहित्य समिति गठन तथा परिचालन, कृति प्रकाशन कोषमार्फत् साहित्यिक कृतिहरूको प्रकाशन तथा बजारीकरण, १० वटा पुरस्कार स्थापनामार्फत् स्रष्टा सम्मानको कार्यक्रम गर्दै बकैया गाउँपालिकालाई सिर्जनशील पुस्ताको गाउँपालिका र मकवानपुर जिल्लालाई सिर्जनशील जिल्लाको रूपमा सुपरिचित गराउन प्रयत्नरत यस संस्थाकै निरन्तर लामो बहस, पैरवीबाट बकैया गाउँपालिकामा गठन हुन लागेको प्रज्ञा प्रतिष्ठानको सम्पूर्ण कार्यभार यसै संस्थामार्फत् अघि बढाउने गरी झरना–बकैया वाङ्मय प्रतिष्ठानको रूपमा संस्थाको विधान संशोधन गरी आगामी दिनमा बकैया गाउँपालिककाका लोक कला, साहित्य, भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने योजना झरना साहित्यिक परिवार मकवानपुरको रहेको छ । यस कार्यमा सबै पक्षबाट सहयोग मिल्ने नै छ भन्ने कुरामा म हामी आशावादी छौँ ।

५. अन्त्यमा….
अग्रजको अनुभव र सल्लाह, सहयोगी हातहरूको सहयोग, बकैया गाउँपालिकाको भरपर्दो संरक्षण र हामी युवाहरूको जोस र जाँगरबाट अघि बढिरहेको झरनाको गति अझै परिपक्व र लक्ष्यगामी हुनका लागि सबै पक्षको सकारात्मक र रचनात्मक सल्लाह सुझाव र निरन्तर सहयोगको प्राप्त भइरहेमा झरना बकैया गाउँपािलका, मकवानपुर जिल्ला, वाग्मती प्रदेश र सिङ्गो राष्ट्रकै गौरवशाली संस्थाको रूपमा अघि बढ्ने कुरामा कुनै सन्देह छैन ।

(गौतम झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्ष हुनुहुन्छ ।)