सुरुसुरुमा झरना साहित्यिक परिवारको कार्यक्रममा जाँदा म कविता नसुनाई फर्किन्थँे । तर एउटा कार्यक्रममा मलाई छतिवनमा पढ्ने दाजुहरुले कविता पढ्न दिनुभयो । त्यो झरनाको बृहत साहित्यिक गोष्ठीको सन्दर्भ थियो । म त्यतिखेर कर्म प्राप्ति निमाविमा पढ्थेँ । प्रतियोगितात्मक सो कार्यक्रममा मैले सौजन्यमा प्राप्त गरेको सो कविता पुरस्कृत भएन । जब कक्षा ९ अध्ययन गर्न थालेँ, त्यतिखेर म महेन्द्र मावि छतिवनको विद्यार्थी भइसकेको थिएँ । कक्षा–९ को सामाजिक विषयको गाइडमा मैले सो कविता देखँें । अनि थाहा भयो यो कविता त साथीहरुले सारेर मलाई सुनाउन दिएका रहेछन् ।
त्यसपछि मैले अलिक लामै समय झरनाको कार्यक्रममा रचना सुनाइनँ । तर, कार्यक्रममा भने प्रायशः जाने गर्दथँे । घरमा बुवा–ममीले कार्यक्रममा जाने तर रचना नसुनाउने गर्नु ठीक होइन भन्नुभयो । त्यसपछि मैले झरनाको प्रतियोगितात्मक कार्यक्रममा मासिक बालपत्रिका मुनाबाट ‘मेरो देश नेपाल’ शीर्षकको कविता सारेर सुनाएँ । यो कविता प्रथम हुन पुग्यो । कविता त प्रथम भयो तर ममा छटपटी सुरु भयो । कारण कविता बालपत्रिकाबाट चोरिएको थियो । कतै निर्णायकले थाहा पाएर बेइज्जती हुने पो हो कि भन्ने डर । अर्कातिर राति सपनमा पनि पुरस्कार फिर्ता गर्नुपरेको देखेँ । यही सन्दर्भमा म बुवाको डायरी लुकीलुकी हेर्ने गर्दथँे । बुवाको डायरीको पहिलो पानामा ‘तपार्ईँ अर्काको डायरी खोलेर हेर्ने सज्जन मानिस होइन’ भनी लेखिएको हुन्थ्यो । म त्यही असज्जन मानिस थिएँ जो बुवाको डायरी लुकी–लुकी हेथ्र्यो । त्यहाँ लेखिएको कविताको एक लाइन ‘हेप्ने र हेपिने झन्डै उस्तै नै हुन्’ भन्ने म सधैँ सम्झिरहन्छु ।
उहाँको डायरी खोलेर हेर्थेँ । झरनाको कार्यक्रममा तेस्रोपटक रचना सुनाउँदा बुवाको डायरीबाट कविता सारेर सुनाएँ । सो कविता पनि पुरस्कृत भयो यसरी चोर्दै सारेर सुनाइएका कविताहरू पुरस्कृत हुँदै गएपछि ममा सङ्कट सुरु भयो । अब मैले आफ्नै कविता सुनाउन सकिनँ भने पक्राउ खान्छु र दण्डित हुन्छु भन्ने महसुस हुन लाग्यो । त्यसपछिका कार्यक्रमहरूमा मैले आफूले नै कविता लेखी सुनाउन थालेँ । सुरुवाती कविता २०५७ सालदेखि लेख्न थालेको हो । कविता लेखनको यो क्रम आज अद्यापि जारी छ । समयले दुई दशक काटी सकेछ ।
कविता लेखनको प्रभावलाई सम्झिँदा गाउँमा हामीले बाल क्लव बनाएका थियाँैं । विशेषगरी गणेश बञ्जारा दाजुको अग्रसरतामा बालअधिकार क्लब छतिवन–८ पावस गठन भएको थियो । त्यस क्लबमा हामी मासिक ५÷५ रुपैयाँ उठाएर पैसा जम्मा गथ्र्यौँ । त्यसबाट फुटबल किन्ने, मासिक बालपत्रिका मुना, सुनकेस्रा किन्ने काम हुन्थ्यो । मुना, सुनकेस्रा जस्ता बालपत्रिका हामी पालै–पालो अध्ययन गथ्र्याँै । त्यसको प्रभावले पनि लेखनतर्फ आफू उद्यत भएको हुनुपर्छ भन्ने लाग्छ । त्यति मात्र नभएर छतिवनमा ग्रामीण संचार सेवा समाज थियो । यसले विभिन्न रचनाहरू सुनाउन प्रेरित गथ्र्यो । ग्रामीण सञ्चार सेवा समाजको सो कार्यक्रममा डरले काँप्दै माइकमा बोलेको झझल्को मस्तिष्कमा सधैँ रहीरहेको छ ।
झरना सम्झिँदा मेरो मानसपटलमा रमेशमोहन अधिकारी, उद्धव सापकोटा, जनार्दन खनाल पर्शुराम गौतम लगायतको नाम सरसर्ती आउने गर्दछ । त्यसपछि हामीभन्दा अगाडि लेखन आरम्भ गर्नुभएका अनमोलमणि, अर्पण पराजुली, हरिहर खनाल, तुलसी गिरी, वासुदेव खनाल, जनकराज सुवेदी, अमृत फूयाँल, यादव दहाललगायतको नाम सम्झनामा आउँछ । समवयी साथीहरु दीपक गौतम, विश्वनाथ सञ्जेल, मसान उपासक, उमेश तिमल्सिना, चिरञ्जीवी लामिछाने, भावना सापकोटा विश्वराई, सन्तराम राई, गोविन्द चौलागार्इँ, सरला बोलखे, सिर्जना सापकोटा, देवराज लामिछाने, लीला शिरिष, रामशरण माझीहरू पनि मानसपटलको चक्कामा घुमिरहेका हुन्छन् ।
कक्षा ८ पढ्ने बेला हाका–हाकी रेडियो कार्यक्रम संचालक जोशिला देवकोटाबाट समाचार लेखनसम्बन्धी तालिम समेत प्राप्त गर्ने अवसर बनेको थियो । त्यसबाटै प्रेरित भई विद्यालयकालीन समयमा चितवन पोस्ट पत्रिकामा छतिवनबाट म आफुले साहित्यिक कार्यक्रमको रिपोर्टिङ गर्थें । यो कनेक्सन गराउने काम रमेशमोहन सरले गर्नु भएको थियो ।
हेटौँडामा देवप्रसाद श्रेष्ठ, के एल श्रेष्ठ, दीपक श्रेष्ठ आदिले प्रकाशन गर्नुहुने पत्रिका कुराकानी साप्ताहिकका सम्पादक हालका बज्जिका भाषालाई स्थापित गर्न लाग्नु हुने अभियन्ता तथा लेखक सञ्जय साह हुनुहुन्थ्यो । उहाँले छतिवनका रचनालाई निकै महत्वका साथ छाप्नु हुन्थ्यो । रचना जम्मा गरेर बजार ल्याई दिने काम कि रमेश सरले गर्नुहुन्थ्यो या हामी हुलाकमा गएर खाममा टिकट टाँसी रचना सम्प्रेषण गथ्र्यौँ । पत्रिका पनि विद्यालयमा नै पुग्थ्यो र हामी दुई रुपैयाँ खर्च गरी उक्त पत्रिका किन्थ्यौँ । आफ्नो फोटोसहित रचना छापिएको पत्रिकाले हामीमा खुसीको पारो बढाउँथ्यो । पुराना दिनहरू सम्झिँदा समयले खुब नोस्टाल्जिक बनाउँछ ।
आज हामी जुन यात्रामा छौँ, त्यसमा हिजोको इतिहास जोडिएकै छ । मुहानबिनाको नदीको परिकल्पना गर्नु मुर्खता हो । भोलि हामी जुन यात्रामा हुनेछौँ त्यो हिजो वा आजको निरन्तरता नै हुनेछ । छतिवन र झरना एक अर्काका पर्याय हुन् । बकैयाको सांस्कृतिक मूल्यलाई अगाडि बढाउन झरना साहित्यिक परिवारले ठूलो भूमिका खेलेको छ र खेल्ने नै छ । पछिल्लो समय युवा पुस्ताका साहित्यकार दीपक गौतमको नेतृत्वले झरनालाई प्रभावपूर्ण गतिदिन सकेको छ । यो गतिको ओजलाई कायम गर्दै अगाडि बढाउनु जरुरी छ । देश सङ्घीयतामा गएपछि बनेको गणतान्त्रिक नेपालको बकैया गाउँपालिका स्थानीय सरकारका अध्यक्ष दामोदर खनाल र उपाध्यक्ष सरला बोलखेको झरनाप्रतिको विश्वास र माया पनि दर्बिलो देखिएको छ । त्यसले झरना संस्थागत हुन केही मार्गहरू तय भएका छन् । आगामी स्थानीय तहको चुनाबबाट निर्वाचित हुने जनप्रतिनिधिहरूले पनि यो पक्षलाई मनन गरी राष्ट्रभरी बकैयाको साँस्कृतिक मूल्यलाई स्थापित गर्न प्रभावपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ ।

(खनाल साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष हुनुहुन्छ ।)