पचासको दशकको शुरुवातमा झरना साहित्यिक परिवार मकवानपुरको स्थापना भएपश्चात् तत्कालीन छतिवन गाविस हुँदै हालसम्म आउँदा सिङ्गो मकवानपुर जिल्ला समेट्ने गरी यस संस्थाले आफ्ना विविध प्रकारका गतिविधिहरू अगाडि बढाइरहेको छ । नेपाली भाषा, कला र साहित्यलाई संरक्षण, सम्बर्धन र प्रबर्धन गर्नमा यो संस्था निरन्तर क्रियाशील छ । साहित्यका अनेकौं आयामहरू समेट्दै जानु तथा साहित्यिक गतिविधिहरूमा विविधता कायम गर्न सक्नु यस संस्थाको एउटा चिनारी हो । नियमित रूपमा मासिक साहित्यिक शृंखलाहरू, नियमित रूपमा आफ्नै साहित्यिक कृति प्रकाशन, विधाविशेष साहित्यिक कार्यक्रमहरू, साहित्यिक विमर्शहरू, साहित्यिक सम्मान तथा पुरस्कारहरू, सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत बाल पुस्ताको माझमा साहित्यिक प्रशिक्षण, लेखन अभ्यास तथा प्रतियोगिताहरू, साहित्यिक यात्राहरू आदि यसका मुख्य गतिविधिहरू हुन् ।
नयाँ पुस्तालाई पनि सिर्जना कर्ममा सँगसँगै लिएर अगाडि बढ्ने अभियान यो संस्थाको अर्को ठूलो पहिचान हो । यो झरना साहित्यिक परिवार मकवानपुरको विगतदेखिकै अभ्यास हो । विशेषगरी विद्यालय तहको उत्तराद्र्धतिर पुगेका विद्यार्थीलाई यसले स्थापनाकालदेखि हालसम्म नै आफ्ना विविध खाले सिर्जनात्मक गतिविधिहरूमा समेटेर अगाडि बढिरहेको छ ।
नयाँपुस्ताको सिर्जनशीलतालाई परिस्कृत गर्दै निखार दिने क्रमको पछिल्लो कडीका रुपमा रहेको छ– ‘झरना–बकैया बालसाहित्य परिचालन समिति’ । विशेषगरी बकैया गाउँपालिका भेगका बालबालिकालाई अभियानकै रूपमा सिर्जना कर्ममा उतार्ने कोसिसमा यो समिति क्रियाशील छ । सिर्जनात्मक सीप तथा पठन संस्कृति विकासमा झरना साहित्यिक परिवार मकवानपुरका गतिविधिहरुलाई थप संयोजित, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले २०७८ वैशाख २५ मा झरना साहित्यिक परिवार मकवानपुरको उपसमितिका रूपमा यसको गठन गरिएको हो । बकैया गाउँपालिकाका ११ विद्यालयहरूमा गठन भएका बालसाहित्य समितिहरूको छाताका रुपमा यसले कार्य गर्ने गर्दछ । ‘झरना–बकैया बालसाहित्य परिचालन समिति’ले बकैयाका सबै विद्यालयहरूलाई समेटेर कला तथा साहित्यिक क्षेत्रका प्रतिभाहरू खोजि गर्ने तथा उनीहरूको प्रतिभालाई थप प्रस्फुटन गर्ने लक्ष्य राखेको छ ।
यस वर्षको वैशाख २५ मा औपचारिक रुपमा गठन भएपश्चात् ‘झरना–बकैया बालसाहित्य परिचालन समिति’ ले गरेका गतिविधिहरुः
१. २०७८ जेठ २९ गते भर्चुअल माध्यम जुममार्फत् विद्यालयस्तरीय कविता प्रतियोगिता (बकैया विशेष) आयोजना ।
२. २०७८ असार ३१ गते भर्चुअल माध्यम जुममार्फत् विद्यालयस्तरीय कविता प्रतियोगिता (बकैया विशेष) आयोजना ।
३. २०७८ साउन ९ गते बकैया केन्द्रित बाल साहित्यिक प्रशिक्षणका सन्दर्भमा बकैयाका स्थानीय जनप्रतिनिधिहरू, विद्यालयका प्रअहरू, विद्यालयका शिक्षक प्रतिनिधिहरू, झसापका सल्लाहकारहरू, बकैयाका विद्यालयहरूमा गठित बाल साहित्य समितिका पदाधिकारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा भर्चुअल माध्यम जुममार्फत् विशेष अभिमुखीकरण कार्यक्रम आयोजना ।
४. २०७८ साउन १६ गते बकैयाका विद्यालयहरूमा गठित बाल साहित्य समितिमा आबद्ध विद्यार्थीहरूको सहभागिता र संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको सहजीकरणमा विद्यालय केन्द्रित गजल–विशेष साहित्यिक प्रशिक्षण (अवधारणा विशेष) भर्चुअल माध्यम जुममार्फत् आयोजना ।
५. २०७८ साउन २३ गते बकैयाका विद्यालयहरूमा गठित बाल साहित्य समितिमा आबद्ध विद्यार्थीहरूको सहभागिता र संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको सहजीकरणमा विद्यालय केन्द्रित गजल–विशेष साहित्यिक प्रशिक्षण (लेखन अभ्यास विशेष) भर्चुअल माध्यम जुममार्फत् आयोजना ।
६. २०७८ साउन ३० गते विद्यालयस्तरीय गजल प्रतियोगिता (बकैया विशेष) भर्चुअल माध्यम जुममार्फत् आयोजना ।
७. २०७८ भदौ ५ गते बकैयाका विद्यालयहरूमा गठित बाल साहित्य समितिमा आबद्ध विद्यार्थीहरूको सहभागिता र संस्थाका उपाध्यक्ष विश्वनाथ सञ्जेलको सहजीकरणमा विद्यालय केन्द्रित मुक्तक–विशेष साहित्यिक प्रशिक्षण (अवधारणा विशेष) भर्चुअल माध्यम जुममार्फत् आयोजना ।
८. २०७८ भदौ ५ गते बकैयाका विद्यालयहरूमा गठित बाल साहित्य समितिमा आबद्ध विद्यार्थीहरूको सहभागिता र संस्थाका उपाध्यक्ष विश्वनाथ सञ्जेलको सहजीकरणमा विद्यालय केन्द्रित मुक्तक–विशेष साहित्यिक प्रशिक्षण (लेखन अभ्यास विशेष) भर्चुअल माध्यम जुममार्फत् आयोजना ।
८. २०७८ भदौ १९ गते विद्यालयस्तरीय गजल प्रतियोगिता (बकैया विशेष) भर्चुअल माध्यम जुममार्फत् आयोजना ।
९. २०७८ भदौ २६ गते विद्यालयस्तरीय मुक्तक प्रतियोगिता (बकैया विशेष) भर्चुअल माध्यम जुममार्फत् आयोजना ।
१०. २०७८ भदौ ३० गते विद्यालयस्तरीय कविता प्रतियोगिता (बकैया विशेष) आयोजना ।
आगामी योजना
झरना बकैया बालसाहित्य परिचालन समितिले आगामी दिनमा बकैया गाउँपालिकाका सबै विद्यालयहरू समेट्ने योजना राखेको छ । हरेक वडामा पुस्तकालय सञ्चालन गर्ने सरकारी अवधारणालाई आत्मसात गर्दै सोका लागि सकेको सहयोग समेत जुटाउँदै जाने उद्देश्य पनि यसको छ । विद्यालयहरूमा स्थलगतरुपमा पुगेर अथवा भर्चुअल (अनलाइन) माध्यमबाट विभिन्न प्रकारका साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिइराखेको यस समितिले आगामी दिनमा ती गतिविधिहरुलाई अझै विस्तार गर्ने लक्ष्य लिएको छ । यसक्रममा साहित्यिक प्रशिक्षणहरू, स्थलगत रचना लेखन, साहित्यिक कार्यशाला, विधागत प्रतियोगिताहरू, भित्तेपत्रिका लेखन, हवाइ पत्रिका प्रकाशन तथा निकट भविष्यमै अनलाईन साहित्यिक पोर्टल सञ्चालन गर्ने सम्मको उद्देश्य यस उपसमितिको रहेको छ ।