विद्यालयको नेतृत्वकर्ता प्रधानाध्यापक हुन् । प्रधानाध्यापकले विद्यालयका शिक्षक, कर्मचारीको साथ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकको सहयोगमा बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अगुवाई गर्नुपर्ने हुन्छ । प्रधानाध्यापकको सफलता नै विद्यालयको सफलता हो भने सफल विद्यालयका प्रधानाध्यापक सफल सावित हुने गर्दछ । प्रधानाध्यापकको सफलतामा सहायक प्रधानाध्यापकको भूमिका पनि उत्तिकै रहन्छ । यसैसन्दर्भमा हेटौंडा–९, लामसुरेस्थित प्रगति माविका सहायक प्रधानाध्यापक किशोर पराजुलीसँग समृद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएको कुराकानीः
समाजः सहायक प्रधानाध्यापकको विद्यालयभित्रको भूमिका र जिम्मेवारी के कस्तो रहन्छ ?
पराजुलीः सहायक प्रधानाध्यापकको भूमिका भनेको प्रधानाध्यापकले गर्ने प्रशासनिक र मुख्यरुपमा शैक्षिक गतिविधिहरुलाई सहयोग गर्ने नै हो । विद्यालयले आवश्यकताअनुसार केहि निश्चित कार्यहरुचाहिँ प्रधानाध्यापकले नै गर्नुपर्ने हुन्छ । विद्यालयभित्र र बाहिरको समग्र पक्षमा प्रधानाध्यापक जिम्मेवार हुनुपर्ने, व्यस्त रहनुपर्ने भएकाले विद्यालयभित्रै रहेर प्रधानाध्यापकले गर्ने केही कामहरु गर्न सहयोगीको रुपमा, समन्वयकर्ताको रुपमा शिक्षक, विद्यार्थी र अभिभावकबीच सम्बन्ध राख्ने कार्य सहायक प्रधानाध्यापकले गर्ने हो । मैले पनि सोही जिम्मेवारीअनुरुप कार्य गरिरहेको छु ।
समाजः कतिपय विद्यालयहरुमा राजनीतिक दल सम्बद्ध भएका शिक्षकका पेशागत संगठनहरुको भागबण्डा मिलाउन पनि सहायक प्रधानाध्यापक थप्ने गलत प्रवृत्ति देखिएका छन्, यस विषयमा तपाईंको धारणा के छ ?
पराजुलीः विद्यालयमा गरिने प्रत्येक क्रियाकलापहरु शैक्षिक गतिविधिसँग सम्बन्धित नै हुनुपर्छ । हामीले अर्थात् सहायक प्रधानाध्यापक अथवा प्रधानाध्यापकको रुममा सबैले गर्ने गतिविधिहरु भनेको विद्यालयभित्र शैक्षिक वातावरण बनाउने, सोहीअनुसार विद्यार्थीलाई अगाडि बढाउने काममा हामी लगनशील हुनुपर्छ । यो मुलुक राजनीतिकरुपमा अलिकति तरलता भएको हुनाले होला केहि ठाउँमा त्यस्तो हुनसक्ला, तर म जहाँ काम गर्दैछु, त्यहाँ नितान्त शैक्षिक वातावरण नै छ । तर कुनै ठाउँमा त्यस्तो कार्य हुन्छ भनेचाहिँ त्यसले विद्यालयको शैक्षिक अवस्था सुधार हुँदैन र शैक्षिक गतिविधि अगाडि बढाउन त्यति सहज पनि हुँदैन ।
समाजः प्रधानाध्यापकको नेतृत्वमा सहायक प्रधानाध्यापकले कसरी काम गर्नुपर्छ ?
पराजुलीः सहायक प्रधानाध्यापक एउटा सहयोगीको रुपमा काम गर्ने हो भन्ने मलाई लाग्छ । विद्यालयको प्रधानाध्यापकको अधिकार क्षेत्र धेरै नै हुन्छ । प्रधानाध्यापकको जिम्मेवारी प्राप्त गर्ने व्यक्तिले विद्यालय भित्र मात्र नभएर विद्यालय बाहिर पनि अन्य कार्यालय, शैक्षिक संस्था, पालिकादेखि लिएर अन्य धेरै संस्थाहरुमा समन्वय गर्नुपर्ने अवस्था रहन्छ । ती कामहरु गर्दा प्रधानाध्यापकले कतिपय समय विद्यालय बाहिर रहनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा सहायक प्रधानाध्यापकले प्रधानाध्यापकले गर्ने केही कामहरुमा सहयोगीको भूमिका खेल्नुपर्ने हुन्छ । शिक्षकहरुसँग पनि समन्वय गर्ने र शिक्षकहरुबाट आएका कुराहरु प्रधानाध्यापकसम्म पुर्याउनुपर्ने पनि हुन्छ ।
समाजः प्रधानाध्यापकको भूमिका कस्तो भयो भने सहायक प्रधानाध्यापकको भूमिका प्रभावकारी हुन्छजस्तो लाग्छ ?
पराजुलीः प्रधानाध्यापक भनेको विद्यालयको मुल नेतृत्व नै भयो । एकदम सहयोगी, समन्वयकर्ताको भूमिका खेल्नुपर्छ, प्रधानाध्यापकले । अर्कोचाहिँ नेतृत्वकर्ताको भूमिका पनि खेल्नुपर्छ । सहायक प्रधानाध्यापकबाट सबै कामहरु नहुने पनि हुनसक्छ । कतिपय अवस्थामा प्रधानाध्यापकले नेतृत्वदायी भूमिका खेल्दा, सृजनात्मकरुपले अघि बढ्दा शिक्षकहरुसँग राम्रो सम्बन्ध बनाउँदा सहायक प्रधानाध्यापकलाई पनि काम गर्न सहज हुन्छ । समग्र संस्थाको लिडर भएको हुनाले प्रधानाध्यापकको मुख्य भूमिका भनेको लिडरसीप अनि सृजनात्मक, शैक्षिक गतिविधिमा चासो राख्ने सम्पूर्णलाई उत्प्रेरित गर्ने र त्यो अनुसारको योजना बनाउने र त्यो योजनाको कार्यन्वयनका लागि सहायक प्रधानाध्यापकसँग समन्वय गरेर अघि बढ्ने गर्यो भने सहायक प्रधानाध्यापकहरुले पनि राम्रोसँग काम गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ ।
समाजः समग्र विद्यालयमा शैक्षिक वातावरण सृजना गर्नका निम्ती तपाईंले गर्दै आउनु भएको कामहरु के कस्ता छन् ?
पराजुलीः अहिले सहायक प्रधानाध्यापकको रुपमा मैले कार्य गरिरहेको अवस्था छ । मभन्दा माथि नेतृत्व गर्ने प्राचार्य (प्रधानाध्यापक) हुनुहुन्छ । उहाँसँग एकदम समन्वय गरेर सहयोगीको रुपमा कार्य गरिरहेको अवस्था छ । मलाई नियुक्तिपत्र दिँदाखेरि पनि उहाँले केहि अधिकार क्षेत्रहरु तपाईंले गर्नुपर्ने काम भनेर तोकिदिनु भएको छ । दैनिकरुपमा सञ्चालन हुने कक्षाहरुको निगरानी गर्ने, निरीक्षण गर्ने, समय तालिकाको निर्धारण गर्ने, विद्यालयमा अनुशासन कायम गर्ने, परामर्श गर्ने कुराहरुचाहिँ मेरो अधिकार क्षेत्रभित्र पर्छ । हामीले नियमितरुपमा परीक्षा सञ्चालन गर्छौ, ती परीक्षा सञ्चालन गर्नका निम्ति संयोजकको रुपमा पनि मैले भूमिका खेल्नुपर्ने हुन्छ, ती कामहरु मैले गर्दै आएको छु ।