एकाग्र चित्तका लागि ध्यान निकै उपयोगी हुने गर्दछ । थालनी गरिएका कामप्रति एकचित्त हुन आवश्यक पनि छ । तर ध्यानलाई अध्यात्मसँग मात्र जोड्ने गर्दा सर्वसाधारण नागरिकले जीवनमा उपयोग गरेको पाईंदैन । कतिपयले त ध्यानलाई धार्मिक दृष्टिबाट पनि व्याख्या गर्दा गलत अर्थ लगाउने प्रयास भएको छ । ऋषिमुनि, तपस्वी, जोगी र धार्मिक प्रवृत्तिका मानिसले मात्र ध्यान गर्दछन् भन्ने गलत सोचाईको शिकार हुँदै आएको ध्यानलाई पछिल्लो समयमा प्रयोगमा ल्याउने प्रयास भएको पाइन्छ । मानिसलाई गहिरो आराम र शान्तिको भावनाका लागि ध्यान आवश्यक हुन्छ । दिमागलाई शान्त बनाउन सकेमात्र मानिसले पूर्ण क्षमताअनुसार काम गर्दछ । ध्यानले तत्कालमा आराम गर्न मद्दत गर्दछ भने दिनभरि हुने तनावलाई समेत व्यवस्थापनमा सहयोग पुग्दछ ।

कोभिडले जनजीवन प्रभावित गर्न थालेपछि मानिसहरु योग र ध्यानमा आकर्षित भएको पाइन्छ । यस घटनाले अप्ठेरो परेपछि मानिस सबै उपाय अपनाउन पनि तयार हुन्छ भन्ने देखिन्छ । जीवनमा योग र ध्यानका लागि समय छुट्याउन सकेको भए संकट आए पनि सहजै पार लगाउन सक्ने क्षमता विकास हुनेथियो । सानातिना घटना र पीडाबाट उन्मुक्तिका लागि दृढ आत्मविश्वास अध्यात्मिक अभ्यासले नै दिने गर्दछ । शान्त मनले मात्र हिम्मतका साथ काम गर्न सकिन्छ । अस्थिर मनस्थितिलाई नियन्त्रण गर्न ध्यान निकै फलदायी मानिएको छ । आम मानिसले मस्तिष्कलाई गहिरो आराम दिन दिनमा केही समय छुट्याउन जरुरी छ । अनावश्यक गफ गरेर समय बिताउनु भन्दा त्यही समयलाई ध्यानमा केन्द्रित गर्ने बानीको विकास हुन आवश्यक छ ।

पछिल्लो समय विद्यालयहरुले पनि ध्यानका लागि समय व्यवस्थापन गर्न थालेको पाइन्छ । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा कक्षामा पठनपाठन सुरु हुनुअघि विद्यार्थीलाई केही मिनेटको ध्यान गराउने गरिएको छ । सुरुवात निकै राम्रो हो । तर यसले निरन्तरता कहिलेसम्म भन्ने प्रश्न छ । कुनै पनि नयाँ कार्यको सुरुवात गरेपछि त्यसको प्रभावकारिताका आधारमा निरन्तरता दिन सक्नुपर्दछ । तर आधुनिक भौतिक सुखभोग गर्ने जमानामा विद्यार्थीहरुले ध्यानको अभ्यासलाई कहिलेसम्म अनुशरण गर्ने हुन् भन्ने प्रश्न छ । पठनपाठनमा विद्यार्थीलाई एकाग्र गराउन ध्यान गराउने गरेको विद्यालयले जनाएको छ । चञ्चल भएको मन र मस्तिष्कलाई आराम दिएर पढाईलाई केन्द्रित गर्ने उत्तम विधि ध्यान बन्नसक्छ ।

कक्षाकोठामा पुगेका शिक्षक, विद्यार्थी यथास्थानमा उभिएर आँखा चिम्लिएर ध्यान गर्छन् । ध्यान गर्नका लागि उपयुक्त धुनहरु पनि बजाइन्छ । विद्यालयले कम्प्युटर सफ्टवेयरमार्फत् घण्टी बज्ने व्यवस्था गरेको छ भने हरेक घण्टीपछि कम्प्युटर सफ्टवेयरमार्फत् नै कक्षाकोठामा धुन बज्ने व्यवस्था मिलाइएको छ । ध्यान गराउन सुरु गरेपछि विद्यार्थीले पढाइएको विषयमा लिने तनाव कम हुनुका साथै स्मरणशक्ति बढाएको शिक्षकको दावी सही हुनसक्छ । बालजागृति विद्यालयको प्रयास मकवानपुरमा नयाँ अभ्यास हो । संस्थागतदेखि सामुदायिक विद्यालयहरुमा पनि विद्यार्थीहरुमा यस्तो अभ्यास गराउने हो भने अनुशासन बढ्नेदेखि पढाइमा एकाग्रताको विकास हुनसक्छ । जसले शैक्षिक गुणस्तरमा सुधार हुनेछ । राम्रो काम जसले जहाँबाट सुरु गरे पनि त्यसलाई सबैले सकारात्मकरुपमा प्रयोग गर्ने सक्रियता र इच्छाशिक्त आवश्यक छ ।