सरकारले यस वर्षको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । आगामी बैशाख ९ गतेदेखि देशभर परीक्षा सञ्चालन हुँदैछ । कुनै समस्या नहुँदा चैत्रमा गरिने परीक्षा कोभिड महामारीले लामो समय पढाई नहुँदा पनि बैशाखमा परीक्षा मिति निर्धारण गरिएकोप्रति शिक्षक, विद्यार्थी र अभिभावकहरु सन्तुष्ट हुनसकेका छैनन् । अध्ययन गरेपछि त्यसको मूल्यांकन हुन जरुरी छ । तर समय सान्दर्भिक भयो वा भएन भन्ने पक्षबाट यतिबेला बहस सुरु भएको छ । लामो सयमसम्म विद्यालयहरु बन्द हुँदा कक्षा दशका विद्यार्थीले जान्नुपर्ने वा अध्ययन गर्नुपर्ने विषय पूरा हुनसकेको छैन । कोर्ष बाँकी हुँदै सञ्चालन गरिने परीक्षाबाट आउने नतिजा उत्कृष्ट हुनेमा आशंका छ ।


कोभिडका कारण सबैभन्दा बढी प्रभावित शैक्षिक क्षेत्र नै हो । विद्यार्थीको अध्ययन प्रभावित नहोस् भन्दै सरकारले अनलाइन कक्षा सञ्चालन गर्न भनेको थियो । तर त्यो कति प्रभावकारी भयो भन्ने पक्षबाट विश्लेषण भएको छैन । कक्षा सञ्चालन गर्न भनिएपछि त्यसका लागि आवश्यक पूर्वाधारको व्यवस्था हुन नसक्दा ठूलो संख्यामा विद्यार्थीहरु अनलाइन कक्षाको पहुँचबाट बाहिर नै थियो । अनलाइनकै आधारमा कोर्ष सकिएको सरकारको मूल्यांकन हो भने त्यो गलत छ । निजी विद्यालयहरुमा ८० प्रतिशतसम्म विद्यार्थीहरु अनलाइन कक्षामा सहभागी भए भने सामुदायिकतर्फ ४० प्रतिशतभन्दा कम विद्यार्थीले अध्ययन गरेको अवस्था छ । झण्डै आधा संख्याका विद्यार्थीहरुले कोर्ष पूरा गर्न नपाएको अवस्थामा परीक्षा तालिका सार्वजनिक भएको छ ।


परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षाको तालिका विद्यार्थी हितविरुद्व रहेको शिक्षकहरुको दावी छ । कोभिडका कारण चालु शैक्षिक सत्रमा मुस्किलले तीन महिनामात्र पढाइ भएको छ । यस अवधिमा भएको पाठ्यांशको अवस्थाको मूल्यांकन नै नगरी शैक्षिक वर्ष कायम राख्नकै लागि परीक्षा गरिनु व्यवहारिक हुन सक्दैन । विद्यार्थीले कति विषयवस्तु सिक्न सके भन्ने प्रश्नतर्फ ध्यान नै नदिई परीक्षा घोषणा गर्नु हचुवाको निर्णय हो । पाठ्यवस्तु नै नसकी परीक्षा लिँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । कोभिडको प्रभावमा परेका अघिल्ला वर्षहरु जस्तै यसवर्ष पनि विद्यालयको आन्तरिक मूल्यांकनलाई नै आधार मानेर जानु उपयुक्त हुने थियो ।


नेपालका प्रायः विद्यालयमा शैक्षिक गतिविधि भौतिकरुपमा मात्र निर्भर हुनुपर्ने अवस्था छ । फागुन १ गतेदेखि भौतिकरुपमा विद्यार्थी उपस्थित भएर कक्षा सुचारु भएको अवस्थामा लगत्तै परीक्षा गर्दा विद्यार्थीको मनोविज्ञानमा समेत असर पर्नसक्छ । विद्यालयहरुले आन्तरिक मूल्यांकनसमेत गर्न नपाई हुने देशव्यापी परीक्षाबाट राम्रो नतिजा आउने देखिँदैन । हतारमा परीक्षा गर्दा शैक्षिक क्यालेण्डरमा भने असर पर्नेछैन । यसकै लागि सरकारले परीक्षा वैशाखमा गर्ने तयारी गरेको देखिन्छ । शैक्षिक गुणस्तरमा भन्दा सरकारी तालिका जोगाउने प्रयास भएको छ । विद्यार्थीको नियमितता, कक्षाकार्य, गृहकार्य, व्यवहार, सिकाइमा सहभागिता, अनुशासन, व्यवहारिक प्रयोगको अवस्था, परियोजना कार्य, आन्तरिक तथा लिखित परीक्षाजस्ता विषयका आधारमा आउने नतिजा नै उपयुक्त हुने विद्यार्थी, शिक्षक र अभिभावकको मागतर्फ पनि ध्यान दिन जरुरी छ ।