औचापरिक शिक्षालाई प्रभावकारी बनाउन विकसित मुलुकले ठूलो खोज, अनुसन्धान गर्ने गरेको छ । हिजो भन्दा आज र आम भन्दा भोलि प्रभावकारी सिकाईका लागि विकसित मुलुकले गरेका अभ्यास नेपाल जस्तो अविकसित मुलुकका लागि अवसर र चुनौति दुवै हुनेछ । विकसित मुलुकमा सफल मानिएका अवधारणा आत्मसात गर्नु अवसरको विषय हो भने ती अवधारणा हाम्रो सन्दर्भमा उपयोगी नहुन सक्ने चुनौति रहन्छ । यसै सन्दर्भमा विकसित मुलुकले बीसौं शताब्दीको उत्तराद्र्धमा विकसित मुलुकले आत्मसात गरेको सवै तहको शिक्षामा विज्ञान, गणित, प्रविधि, इन्जिनियरिङ र कलाको पारस्परिक सम्बन्धलाई बुझाउने गरी शिक्षण सिकाई हुनुपर्ने व्याख्या गरिएको थियो । यही अवधारणा अहिले नेपालका केही सीमित संख्यामा विद्यालयले मात्रै आत्मसात गरेको देखिन्छ । यसै सन्दर्भमा शिक्षकलाई प्रशिक्षण दिन हेटौंडा आइपुग्नु भएका काठमाडौं विश्वविद्यालयका प्राध्यापक ईन्द्रमणि श्रेष्ठसँग डीबी बर्तौलाले गर्नुभएको कुराकानीः
समाजः स्टिम एजुकेशन के हो ?
स्टिम एजुकेशन अमेरिकामा सुरुमा एसटीईएम (स्टेम)मात्र थियो । जसमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्सलाई प्रमुखता दियो भने देशले विकास गर्न सक्छ भन्ने आयो । तर पछि यसमा एउटा ‘ए’ आर्टस् छुटेको भन्ने रिसर्चरहरुले महसुस गरेर ‘ए’ पनि ईन्क्लुड गरियो र अहिले स्टिम भयो । यो भनेको एक किसिमको बिधि हो । यो कुनै विषय, डिसिप्लिन, सब्जेक्ट होइन । कुनै पनि विषय नभए पनि विद्यालयमा भएको गतिबिधिहरु यो एप्रोचबाट पढाउन सकिन्छ ।
समाजः विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित भएर जाने जुन विषयबस्तु छ, यसमा कला थप्नुपर्ने आवश्यकता किन थियो ?
नेपालमा मात्र नभएर विश्वमा के देखियो भने, विद्यार्थीलाई एउटा मान्छेको रुपमा नभएर मेशिनको रुपमा लिएको देखियो । साइन्सले एभ्रिथिङ इज इन माइन्ड भन्छ । सबैथोक दिमागमै छ, जे पनि दिमाग हो, दिमाग चलाउ भनेर दिमागतिर बढि जोड दियो । त्यहि भएर विद्यार्थीहरुमा उनीहरुका भावनाका कुरा, सुखदुःखका कुराचाहिँ बुझ्न छोडियो । जसका कारणले विद्यार्थीहरु विद्यालय जान मन नगर्ने, पढ्न मन नगर्ने, विभिन्न किसिमका एन्जाईटीहरु बढ्ने भएकाले शिक्षामा आर्टस्को महत्व उजागर गर्न खोजिएको हो । आर्टस्ले हार्टलाई समेट्छ । यसमा विद्यार्थीहरुलाई कथा, कविता बिभिन्न तरिकाले पढाउन सकिन्छ ।
समाजः यसको अवधारणाभित्र कस्ता विद्यार्थीहरुले पढ्न पाउने भन्ने हुन्छ ?
यसमा सबैखाले विद्यार्थीले पढ्न पाउँछन् । हाम्रो स्कूलको एजुकेशन के देखिन्छ भने, बढि ज्ञानको भण्डार भएको एउटा यस्तो ठाउँ हो, जहाँ विद्यार्थीहरुलाई लगेर रटेर, घोकाएर जबर्जस्ती पढाइन्छ । सबैले त्यस्तै गर्छ भन्ने होइन, तर बढिचाहिँ त्यस्तै देखिन्छ ।
समाजः सुरुवाती चरणमा नेपालमा २/३ वर्षको पिरियडमा भएका अभ्यासचाहिँ के कस्ता छन् ?
हाम्रो एजुकेशन एप्रोच हो । शिक्षा भनिसकेपछि सिद्धान्तका कुराहरु पनि आउँछन् । हामीले कस्ता क्रियाकलाप गरिरहेका छौं भने स्कूलमा जाने, त्यहाँका शिक्षकहरुलाई ट्रेनिङहरु दिने र लेसन प्लानहरु बनाउन लगाउने अनि त्यहाँ भएका कुराहरु स्टिमबाट कसरी जोड्न सकिन्छ भन्ने कुरामा जोड दिने गरिन्छ । विभिन्न एनजीओ/आईएनजीओहरुले हामीलाई बोलाउँछन्, हामी त्यहाँ गएर ट्रेनिङ दिन्छौं । विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरु आउनुहुन्छ अनि काठमाडौंका इन्स्टिट्युशनका शिक्षकहरुले बोलाउनुहुन्छ, हामी जान्छौं, ट्रेनिङ दिन्छौं ।
समाजः डेढवर्षे कोर्षको रुपमा अहिले यो सञ्चालनमा आइरहेको छ । तीन सेमेस्टरमा अगाडि बढिरहेको अवस्था छ । खर्चको हिसाबले यो के कत्तिको खर्चिलो हुन आउँछ ?
स्टिम एजुकेशन गर्नका लागि ठ्याक्कै यत्ति नै भन्ने त होइन, तर लगभग तीन लाख चालीस हजार लाग्नसक्छ । त्यो एमफिलको भयो । अर्को हाम्रो पीएचडी पनि छ, इनस्टिम एजुकेशन, जसको अध्ययन गर्न साढे पाँच लाखजति लाग्नसक्छ । त्यस्तैगरी एक वर्षे एमएडीएन स्टिम एजुकेशन छ, त्योचाहिँ दुई लाख तीस हजार लगभग लाग्छ । ठ्याक्कै यत्ति नै भन्न खोजेको होइन, लगभग त्यति लाग्नसक्छ । यसरी तीन वटा प्रोग्रामहरु हामीले चलाइरहका छौं । र समयले साथ दियो भने हामीले दुईवर्षे एमएडीएन स्टिम एजुकेशन पनि चलाउने भन्ने कुरा भइरहेको छ ।
समाजः नेपालका अधिकांश विद्यालयहरुमा के कसरी अगाडि बढ्ने भन्ने योजनाहरु आउँदैछ ?
यहि बागमती प्रदेशको सामाजिक विकासमन्त्री हुनुहुन्छ, कुमारी मोक्तान । वहाँकोमा डेलिकेशन पनि आउनुभएको थियो, कुराकानी भएको छ, त्यो अगाडि बढ्दैछ । बागमती प्रदेशको प्रत्येक विद्यालयमा यसलाई कसरी लैजाने भन्नेबारेमा एक चरणको कुराकानी भइसकेको छ । अब हामी कसरी अगाडि बढ्ने भन्ने कुरा हुँदैछ । त्यसैगरी केहि समयअगाडि म जुम्ला गएको थिएँ । त्यहाँ पनि प्लान इन्टरनेशनलको सहयोगमा लोकल एनजीओले बोलाएको थियो । त्यहाँ पनि ग्रीन स्कूलको अवधारणा बताइदिएको छु । त्यहाँ पनि कसरी ग्रीन स्कूल बनाउने भन्ने कुराहरु भइरहेको छ । विभिन्न विषयबस्तु पढाउनलाई, त्यहाँबाट ज्ञान र सीप सिक्नलाई एग्रिकल्चरसँग कसरी जोड्न सकिन्छ, स्टिम एजुकेशनलाई एग्रिकल्चरसँग जोडेर कसरी पढाउन सकिन्छ, जसले गर्दा विद्यार्थीहरु आत्मनिर्भर हुन सक्छन् । यस्ता विभिन्न प्रक्रियाहरु चल्दैछन् । हामीले यो स्टिम एजुकेशन एप्रोच कसरी लगाउन सकिन्छ, जस्तो विद्यालय सुधार योजना छ, त्यसमा पनि कसरी छिराउन सकिन्छ भनेर विभिन्न चरणमा स्कूलहरुमा कुरा हुँदा स्टिम एजुकेशनलाई यसरी त्यहाँ इनकर्पोरेट गर्ने भन्ने कुराहरु भइरहेको छ ।