हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश पराजुली प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएको छ । प्रदेश प्रहरी कार्यालयले पराजुलीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्दै पुरस्कृत गरेको छ । बुधबार पराजुलीलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।

प्रहरी नायव निरीक्षक पराजुलीले आफ्नो जिम्मेवारी लगनशील एवम् ईमान्दारिताका साथ उत्कृष्ट ढंगबाट सम्पादन गरेकोले सर्वोत्कृष्ट घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ । कार्यरत प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्न बागमती प्रदेश प्रहरी कार्यालयले हरेक महिना प्रदेशकै सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्नुका साथै मातहतका सवै इकाईलाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्न निर्देशन समेत दिएको छ ।

प्रदेश प्रहरी कार्यालयको अन्वेषण योजना शाखामा कार्यरत रही प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना अनुसारका लक्षित गतिविधीहरुलाई प्रभावकारी कार्यान्वयन गर्न पराजुलीले प्रदेश प्रहरी कार्यालयबाट निर्माण गरिएका विभिन्न योजना, कार्ययोजना तथा मापदण्ड निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि जनाइएको छ ।