लागुऔषधसहित पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गर्दै ।

हेटौैंडाः लागुऔषध नाइट्रोभेट ६०० ट्याब्लेटसहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको कालिका नगरपालिका–८ बस्ने २१ वर्षीय एन्जल गुरुङ, १८ वर्षीय निश्चल परियार, भरतपुर महानगरपालिका–१६ का ३३ वर्षीय नरबहादुर राना मगर र २८ वर्षीय युवराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा–१५ रातोमाटे चेकपोष्ट अगाडि उनीहरु सवार बीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५३०९ नम्बरको बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध फेला परेको जनाइएको छ । पक्राउ परेका चारैजनालाई लागुऔषधसहित नियन्त्रणमा लिई बुधबार जिल्ला अदालत मकवानपुरबाट १० दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।