हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि ।

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविलाई भूतपूर्व विद्यार्थी संगठनले पानी शुद्धीकरण गर्ने मेसिन तथा जार सहयोग गरेको छ । २०४९ सालमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुले सहयोग गरेको हो । प्रत्येक वर्ष ५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिने संगठनले जनाएको छ ।

आफू अध्ययन गर्ने समयमा विद्यालय सञ्चालन हुन कठिन थियो र पढ्ने इच्छा भएकाले पनि पढ्न नपाउने स्थिति रहेको स्मरण गर्दै अहिले कोही पनि विद्यार्थीले त्यस्तो अवस्थाको सामना गर्न नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न लागिएको पूर्वविद्यार्थी प्रल्हाद घिमिरे बताउनुभयो । एसएलसीको हालसम्म २० औं ब्याच चलिरहेकाले एउटा ब्याचले ५ जना मात्र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे १ सय जना विपन्न विद्यार्थीले निशुल्क पढ्न पाउने उहाँको भनाइ छ ।

१६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोईरालाले स्थानीय सरकारका तर्फबाट विद्यालयलाई सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाले देशका करिव ४३ जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेको बताउनुहुँदै विद्यालयलाई सहयोगको आवश्यक रहेको बताउनुभयो ।