कोभिडको महामारीमा विद्यालयहरुले सञ्चालन गरेका अनलाइन कक्षाको पक्ष र विपक्षमा कुराहरु आएका छन् । बालबालिकाहरुको अध्ययनको अधिकार सुरक्षित गर्ने तथा उनीहरुलाई पढाइप्रति सक्रिय बनाइराख्न यो विधि निकै प्रभावकारी भएको छ । विद्यार्थीहरुलाई अनलाइन कक्षाले प्रविधिमैत्री बनाइदिएको छ । सदुपयोग गर्ने वा अध्ययनप्रति इमान्दार विद्यार्थीका लागि अनलाइन कक्षा उपयोगी छ भने प्रविधिको दुरुपयोग गर्नेहरुको संख्या पनि कम छैन । अनलाइन कक्षा सञ्चालन हुँदासम्म अभिभावकहरु विद्यार्थीसँग बस्न नसक्दा उनीहरुले प्रविधिलाई दुरुपयोग गर्ने तथा कक्षामा सहभागी नै नहुने वा साइडटकमा रमाउने गरेको पनि पाइएको छ । अनलाइनको दोष भन्दा पनि विद्यार्थीको पढाइप्रतिकोे रुचिमा कक्षाको प्रभावकारिता निर्भर हुने गर्दछ ।

लामो समयसम्म निरन्तर अनलाइन कक्षामा सहभागी हुने विद्यार्थीहरुको आँखामा समस्या हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । विद्यार्थीको मात्र नभई निरन्तर अनलाइन माध्यमबाट लामो समय काम गर्ने अन्य पेशा र क्षेत्रका व्यक्तिहरुमा पनि समस्या हुने भनिएको छ । अध्ययन वा कार्यमा सहजता ल्याएको भए पनि त्यसको साइड इफेक्ट देखिएको छ । तर पनि सामाजिक जीवन चलाउन प्रविधिको उपयोग गर्नुको अब विकल्प छैन । दिनमा ४–६ घण्टाको विद्यालय अनलाइन कक्षा र २–३ घण्टाको अनलाइन गृहकार्य तथा नोट बनाउने र केही घण्टाको मोबाइल, टिभी, ल्यापटपजस्ता विद्युतीय उपकरणको प्रयोग विद्यार्थीहरुको दैनिकी बनेको छ । लगातार डिजिटल स्क्रिन हेरेर बिताउने गर्दा आँखामा असर पर्ने भनिएको छ ।

आँखा देख्नेहरुका लागि अनलाइन कक्षामा केही नकारात्मक पक्ष भए पनि दृष्टिविहीन छात्रछात्रका लागि निकै उपयोगी भएको पाइएको छ । हेटौंडाका विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेका दृष्टिविहीन विद्यार्थीका लागि अनलाइन कक्षा भौतिक उपस्थितिभन्दा पनि लाभकारी भएको पाइएको छ । विद्यार्थीहरु स्वयम् पनि अनलाइन कक्षाबाट निकै प्रभावित भएका छन् । भौतिक उपस्थितिमा पनि उनीहरुले श्रव्यकै माध्यमबाट नै सिक्ने हुन् । भौतिक रुपमा उपस्थित हुन नपाउँदा अधिकांश विद्यार्थी, शिक्षक, अभिभावक दुःखी बनेका छन् । दृष्टिविहीनहरुका लागि अझ प्रभावकारी बनेको छ । श्रव्यबाटै सिक्नुपर्ने भएपछि घरमै बसेर अध्ययन गर्दा विद्यालयसम्म आउजाउमा हुने कठिनाइबाट दृष्टिविहीनहरु मुक्त भएका छन् । त्यसैले उनीहरुका लागि भौतिक उपस्थितिभन्दा अनलाइन कक्षा उपयोगी बनेको छ ।

घरमै बसेर अनलाइनमार्फत् नियमित कक्षामा सहभागी हुन निकै सजिलो भएको अनुभव विद्यार्थीको छ । हेटौंडामा दृष्टिविहीनका लागि सञ्चालन हुँदै आएका कक्षाहरुमा सहभागीहरुका लागि प्लान इन्टरनेशनल र सामुदायिक विकास संस्था नेपालको साझेदारीमा मोबाइल सेट सहयोग भएको छ । मोबाइलमा टक–व्याग एप्लिकेसन डाउनलोड गरेर विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । अरु विद्यार्थीभन्दा दृष्टिविहीनहरुले अनलाइन अध्ययनका क्रममा मोबाइलको सही सदुपयोग गरेका छन् । दृष्टिविहीन शिक्षकहरुको पनि अनलाइन कक्षामा मोबाइलमा टक–व्याग एप्लिकेसन निकै उपयोगी भएको अनुभव छ । अनलाइन कसैका लागि कमजोरी त कसैका लागि उपयोगी देखिएको छ । अनलाइन कक्षाबाट हुने अध्ययन प्रभावकारी नहुने भन्दै गुनासो आएको अवस्थामा दृष्टिविहीनका लागि निकै प्रभावकारी भएको हो ।