हेटौंडाः ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५, टिकाथलीका ३४ वर्षीय प्रज्वल पोखरेल मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५, देउरालीडाँडामा मृत भेटिएका छन् । शनिबार दिउँसो ३ बजेको समयमा पोखरेल मृत अवस्थामा भेटिएको मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकास्थित प्रहरी चौकी फाखेलका प्रहरी नायव निरीक्षक रामशरण दूलालले जानकारी दिनुभयो ।
स्थानीयले शव भेटिएको जानकारी गराएपछि प्रहरी चौकी फाखेलबाट प्रहरी नायव निरीक्षक रामशरण दूलाल नेतृत्वको प्रहरी टोली साँझ ७ बजेको समयमा मात्रै घटनास्थल पुगेको थियो । शुक्रबार बिहान ९ बजेको समयमा ललितपुरको झम्सिखेलबाट ट्याक्सीमा बिहान ११ बजे काठमाडौंको मातातीर्थसम्म आएर प्रज्वल मातातीर्थबाट हिँडेर देउरालीडाँडा पुगेको भन्ने बुझिएको प्रहरी नायव निरीक्षक दूलालले बताउनुभयो ।
शवको अवस्था हेर्दा हिउँ खेल्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने दूलालको भनाइ छ । घरमै मोवाइल राखेर हिँडेका पोखरेलबारे आफन्तले बुझ्ने क्रममा झम्सिखेलबाट ट्याक्सी चढेको सीसीटिभि फुटेजका आधारमा ट्याक्सी चालकसँग कुराकानी भएको प्रहरीले उल्लेख गरेको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट पोखरेलका परिवार पनि सम्पर्कमा आइसकेको र थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।