कोभिड महामारीका कारण बालबालिकाहरु अझै पनि जोखिममा छन् । विश्वमै जेष्ठ नागरिकबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । नेपालका पनि १८ वर्षभन्दा माथिको उमेर समूहका नागरिकमध्ये ६० प्रतिशत बढीले खोप लगाइसकेको सरकारी दावी छ । बालबालिकाहरु भने कोरोनाविरुद्धको खोपका लागि अन्तिम महत्वमा परेका छन् । सम्पन्न देशहरुले पनि आफ्ना जेष्ठ नागरिकहरुलाई खोप लगाइसकेपछिमात्र बालबालिकाहरुतर्र्फ ध्यान दिएका छन् । त्यसको असर नेपालजस्तो देशमा पर्ने नै भयो । अन्य देशले १२ वर्ष भन्दा कम उमेर समूहका लागि पनि खोप लगाउन सुरु गरेका छन् भने नेपालले चाहिँ १२ वर्षमाथिका लागि अभियान सुरु गर्दैछ ।

बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गरिरहेको छ । कोरोनाको तेस्रो लहरको मारबाट बालबालिका जोगाउन भन्दै विद्यालयहरु बन्द गरेको सरकारले खोपका लागि पाँच दिन खुला गरेको छ । अभियान सञ्चालन गर्दैगर्दा व्यवस्थापन पक्षमा ध्यान नदिने हो भने कोरोनाको केन्द्रका रुपमा विद्यालयहरु बन्ने खतरा छ । सवै विद्यालय एकै पटक खुल्ने भन्दा पनि जिल्लागत, त्यसमाथि पनि पालिकागत रुपमा विद्यालयहरु सञ्चालन गरेर खोप वितरण गर्नु उपयुक्त हुन्छ । माघ २० गतेसम्म विद्यालय खोल्ने र खोप लगाउन सरकारले निर्देशन दिएको छ । अध्ययन नभए पनि खोपका लागि भन्दै विद्यार्थीहरुको बाक्लो उपस्थितिले कोरोना संक्रमणका लागि सहयोग पुग्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यान पुग्नु आवश्यक छ ।

कोभिड–१९ को संक्रमणका कारण बन्द भएका विद्यालय खोप लगाउन खुलाउँदै गर्दा पूर्वतयारी गरिनुपर्ने थियो । घरमा बसेका विद्यार्थीहरु खोप लगाउने चासो र चिन्ताभन्दा विद्यालयमा साथीभाइसँगको जमघटमा रमाउने गरेका छन् । स्वास्थ्य मापदण्ड कहीँ कतै देखिँदैन । सम्बन्धित विद्यालय प्रशासनले ध्यान दिएको देखिएको पाइँदैन । हुन त माघको तेस्रो हप्ताबाट कोरोनाको तेस्रो लहर कम हुने विज्ञहरुको दावी छ । होशियारी नअपनाउने हो भने विज्ञको दावीले मात्र केही हुँदैन । नागरिक स्वयम् जिम्मेवार र सचेत हुन सकेमात्र महामारी परास्त हुनसक्छ । विद्यार्थीहरुलाई खोप दिनु उत्तम कार्य भए पनि त्यसको व्यवस्थापन महत्वपूर्ण पक्ष हो । विद्यालयहरुमा खोपका लागि विद्यार्थीहरुलाई बोलाइएको छ । तर बिना स्वास्थ्य मापदण्ड भिड बढाइएको देखिन्छ ।

विश्वव्यापी महामारीबाट जोगाउन आफ्ना नागरिकलाई खोपको व्यवस्था गर्नु सरकारको दायित्व हो । तर विद्यालयहरु सञ्चालन गरेरै भन्दा विकल्प खोजेको भए अझै उत्तम हुने देखिन्छ । वडा समिति वा वडा स्वास्थ्य कार्यालयमार्फत् खोप लगाएको भए भिड कम हुन सक्थ्यो कि ? विद्यालयमै लगाउँदा पनि सबै विद्यार्थीहरुलाई एकै दिन नबोलाई कक्षागतरुपमा आलोपालो गरेर पनि व्यवस्थापन गर्न सकिनेछ । सरकारले कक्षा सञ्चालन गर्न माघ मसान्तसम्म रोक लगाएको अवस्थामा खोपका लागि भिड गर्दैगर्दा अर्को जोखिम नबढोस् भन्ने पक्षबाट स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन र स्वास्थ्य कार्यालयहरु बढी गम्भीर हुन आवश्यक छ । खोप अभियानका नाममा कोरोना मौलाउने मौका नबनोस् ।