हेटौंडाः मनहरी गाउँपालिकामा बालमैत्री सहजकर्ताको पुनर्वहालीको माग गर्दै आन्दोलनरत बालसञ्जालका पदाधिकारीसँग गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भोलि शुक्रबार छलफल गर्नुहुने भएको छ । पालिकामा कार्यरत बालमैत्री सहजकर्ताको पुनर्वहालीको माग गर्दै बालसञ्जालले पालिकाको प्रमुख प्रशासकीय अधिकृत र बालबालिका शाखामा तालाबन्दी गर्दै चरणवद्ध आन्दोलन गरिरहेका बेला गाउँपालिकाका अध्यक्ष उप्रेतीले समस्या समाधानका लागि छलफल गर्न लागेको जानकारी दिनुभएको छ ।
बालमैत्री पालिका घोषणाको तयारीका लागि २०७६ साल साउनदेखि कार्यरत बालमैत्री सहजकर्ताहरुलाई यही माघ महिनादेखि निरन्तरता नदिने निर्णय पालिकाले गरेपछि पालिकाको निर्णयविरुद्ध बालसञ्जाल आन्दोलनरत छ । सुरुमा स्वयंसेवीको रुपमा कार्यरत एक जना पालिकास्तरीय सहजकर्ता र ९ जना वडास्तरीय सहजकर्ताहरुलाई पछिल्लो समय दैनिक ज्यालादारी कर्मचारीको रुपमा पालिकाले परिचालन गर्दै आएको थियो ।
बालमैत्री पालिका घोषणा भएको दुई वर्ष पूरा भइसकेको, बालबालिकाको क्षेत्रमा काम गर्न पालिकामा छुट्टै शाखा नै रहेको, विभिन्न गैससहरुले पनि अभियान सञ्चालन गरिरहेको, पालिकाभित्र ८२ वटा बाल क्लब र पालिकास्तरीय बालक्लब सञ्जाल नै रहेकोले पनि सहजकर्ता आवश्यक नदेखिएकोले पुस २७ गते कार्यपालिका बैठकबाट सहजकर्तालाई विदाई गर्ने निर्णय गरेको अध्यक्ष उप्रेती बताउनुहुन्छ । यता बालसञ्जाल भने बालमैत्री पालिका घोषणा गरिए पनि त्यसको निरन्तरताका लागि सहजकर्ता आवश्यक भएको दावी गर्दै सहजकर्ताको सेवालाई निरन्तरता दिन माग गरिरहेका छन् ।
केहीदिनदेखि अस्वस्थताका कारण पालिकामै जान नपाएको जानकारी गराउनुहुँदै स्वास्थ्यमा सुधार भएकोले भोलि शुक्रबार बालसञ्जालका पदाधिकारीसँग छलफल गरेर समस्या समाधान गर्ने पालिकाका अध्यक्ष उप्रेतीले बताउनुभएको छ । सहजकर्ताको विवादलाई पालिकाका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला विष्टबीचको राजनीतिक लडाइँको रुपमा पनि हेरिएको छ ।