Home मुख्य समाचार मनहरीका अध्यक्षले भोलि बाल सञ्जालसँग छलफल गर्ने

मनहरीका अध्यक्षले भोलि बाल सञ्जालसँग छलफल गर्ने

हेटौंडाः मनहरी गाउँपालिकामा बालमैत्री सहजकर्ताको पुनर्वहालीको माग गर्दै आन्दोलनरत बालसञ्जालका पदाधिकारीसँग गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भोलि शुक्रबार छलफल गर्नुहुने भएको छ । पालिकामा कार्यरत बालमैत्री सहजकर्ताको पुनर्वहालीको माग गर्दै बालसञ्जालले पालिकाको प्रमुख प्रशासकीय अधिकृत र बालबालिका शाखामा तालाबन्दी गर्दै चरणवद्ध आन्दोलन गरिरहेका बेला गाउँपालिकाका अध्यक्ष उप्रेतीले समस्या समाधानका लागि छलफल गर्न लागेको जानकारी दिनुभएको छ ।

बालमैत्री पालिका घोषणाको तयारीका लागि २०७६ साल साउनदेखि कार्यरत बालमैत्री सहजकर्ताहरुलाई यही माघ महिनादेखि निरन्तरता नदिने निर्णय पालिकाले गरेपछि पालिकाको निर्णयविरुद्ध बालसञ्जाल आन्दोलनरत छ । सुरुमा स्वयंसेवीको रुपमा कार्यरत एक जना पालिकास्तरीय सहजकर्ता र ९ जना वडास्तरीय सहजकर्ताहरुलाई पछिल्लो समय दैनिक ज्यालादारी कर्मचारीको रुपमा पालिकाले परिचालन गर्दै आएको थियो ।

बालमैत्री पालिका घोषणा भएको दुई वर्ष पूरा भइसकेको, बालबालिकाको क्षेत्रमा काम गर्न पालिकामा छुट्टै शाखा नै रहेको, विभिन्न गैससहरुले पनि अभियान सञ्चालन गरिरहेको, पालिकाभित्र ८२ वटा बाल क्लब र पालिकास्तरीय बालक्लब सञ्जाल नै रहेकोले पनि सहजकर्ता आवश्यक नदेखिएकोले पुस २७ गते कार्यपालिका बैठकबाट सहजकर्तालाई विदाई गर्ने निर्णय गरेको अध्यक्ष उप्रेती बताउनुहुन्छ । यता बालसञ्जाल भने बालमैत्री पालिका घोषणा गरिए पनि त्यसको निरन्तरताका लागि सहजकर्ता आवश्यक भएको दावी गर्दै सहजकर्ताको सेवालाई निरन्तरता दिन माग गरिरहेका छन् ।

केहीदिनदेखि अस्वस्थताका कारण पालिकामै जान नपाएको जानकारी गराउनुहुँदै स्वास्थ्यमा सुधार भएकोले भोलि शुक्रबार बालसञ्जालका पदाधिकारीसँग छलफल गरेर समस्या समाधान गर्ने पालिकाका अध्यक्ष उप्रेतीले बताउनुभएको छ । सहजकर्ताको विवादलाई पालिकाका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला विष्टबीचको राजनीतिक लडाइँको रुपमा पनि हेरिएको छ ।

Exit mobile version