कोरोना भाइरस संक्रमणका कारण जनजीवन प्रभावित बनिरहेको अवस्थामा बजारमा अत्यावश्यक वस्तुको कालोबजारी पनि मौलाएको छ । कतिपय वस्तु तथा सेवामा असुल भइरहेको चर्को मूल्यले कालाबजारी फस्टाइरहेको छ भने कतिपय वस्तुको कृत्रिम अभाव सृजना गरिएको छ । कोरोना भाइरस संक्रमणको सुरुवाती समयमा यसलाई अवसरको रुपमा लिएर धेरै व्यवसायीले फाइदा लिन खोजेका थिए । संक्रमणको सुरुवाती समयमा विशेषगरी मास्क, स्यानिटाइजर, थर्मोमिटर (थर्मल गन), पीपीई, फेस शिल्ड, अक्सिमिटरलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव गराई कालोबजारी गर्नेको बिगबिगी थियो । बिस्तारै कोरोना संक्रमण रोक्ने स्वास्थ्य सुरक्षाका सामग्रीको आपूर्ति सहज भए पनि त्यस्ता बस्तुमा अस्वभाविक मूल्य असुल गरेर कालोबजारी गर्ने प्रवृत्ति अहिलेसम्म पनि उस्तै छ ।

कोरोना भाइरस संक्रमणको तेस्रो लहर व्यापक बनिरहेको समयमा हेटौंडाका केही स्वास्थ्य सामग्री बिक्री गर्ने व्यवसायीहरुले कालोबजारी गरेपछि प्रशासनले पक्राउ गरेर कारबाहीको प्रक्रिया सुरु गरेको हो । विगतमा मास्क तथा स्यानिटाइजरको अभाव भएको समयमा ती सामग्रीमा दशौं गुणासम्म मूल्य असुर गर्न सफल भएका कतिपय व्यवसायीले त्यसलाई अझै पनि निरन्तरता दिइरहेका छन् । अहिले बजारमा सामान्य सर्जिकल मास्कको थोक मूल्य २–३ रुपैयाँ रहेको भए पनि कतिपय पसलहरुमा एउटा मास्कको १० रुपैयाँमा बिक्री भइरहेको छ । कुनै पनि सामानमा २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री मूल्य कायम गर्न नपाइने कानुनी व्यवस्थाविपरित व्यवसायीहरुले ३–४ सय प्रतिशतसम्म नाफा लिएर वस्तु बिक्री गर्नु कालाबजारी नै हो । त्यसमाथि पनि आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि अत्यावश्यक मानिएका सामग्रीमा यसरी चर्को नाफा लिई बिक्री गर्नुलाई सामान्य मान्न सकिँदैन । अझ बजारमा सिटामोलजस्तो अति सामान्य औषधीको अभाव रहेको समाचार सार्वजनिक हुनुले थप आशंका पैदा गरेको छ ।

स्थानीय प्रशासन तथा औषधी व्यवसायी संघसमेतले सर्जिकल मास्कको खुद्रा बिक्री मूल्य ५ रुपैयाँभन्दा बढी नलिनु भनेर बारम्बार निर्देशन जारी गर्दा पनि महंगोमा मास्क बिक्री गर्ने व्यवसायीलाई स्थानीय प्रशासनले पक्राउ गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुलाई सकारात्मक मान्नुपर्छ । तर, एक–दुई व्यवसायीलाई पक्राउ गरेर कारबाही गरेजस्तो गर्ने र फेरि नियमनकारी निकायले बजारका अन्य विकृतिप्रति आँखा चिम्लिएर बस्ने हो भने यस्तो विकृति रोकिनेवाला छैन । नियमविपरित कार्य गर्नेलाई हदैसम्मको कानुनी कारबाही गरी नियमित र प्रभावकारी अनुमगन नगर्दासम्म बजारमा कालोबजारी र कृत्रिम अभावजस्ता विकृति रोकिने सम्भावना देखिँदैन ।

अप्ठ्यारो परिस्थितिमा सहजता बनाउनुको साटो कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न व्यवसायीबीच प्रतिस्पर्धा चल्ने नेपाली बजारको नियति नै हो । नियामक निकायले नियमित बजार अनुगमन नगर्दा व्यवसायीमा यस्ता विकृति बढ्दै जाने अवस्था सामान्य बनिरहेको छ । अर्कातिर केही असहज अवस्था आउने सम्भावना हुनेवित्तिकै आवश्यकताभन्दा बढी सामान खरिद गर्ने उपभोक्ताको मानसिकताले पनि बजारमा अभाव बढाउन र व्यवसायीलाई कालोबजारी गर्न सहयोग पुगिरहेको छ । यस्ता विकृति रोक्नका लागि नियमनकारी निकायले गम्भीररुपमा लिएर प्रभावकारी बजार अनुगमन र कारबाही गर्नु आवश्यक छ ।