हेटौंडाः बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठक बिहीबार बसेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले सांगठनिक संरचनाको विषयमा निजामती कर्मचारी नियमावली ल्याउन संघीय सरकारमा पहल गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को बैठकपछि बैठकका निर्णयहरुको बारेमा जानकारी दिनुहुँदै बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले आजको बैठकले सांगठनिक संरचनाको विषयलाई टुङ्ग्याएको बताउनुभएको छ । हाल थप भएका मन्त्रालयहरुका लागि आवश्यक कर्मचारी परिपूर्ति गर्नका लागि निजामती कर्मचारी नियमावली ल्याउन संघीय सरकारमा पहल गर्ने तथा लोकसेवा आयोगलाई आवश्यक प्रक्रियाका लागि अगाडि बढाउने र कर्मचारी व्यवस्थापन गर्दै जाने निर्णय भएको उहाँले जानकारी दिनुभयो । यस्तै कर्मचारी व्यवस्थापन नभएसम्मका लागि भने हाल रहेका कर्मचारीहरुबाट नै काम चलाउने निर्णय भएको पनि उहाँले बताउनुभयो ।
बागमती प्रदेश मन्त्रालय पुनर्गठन गरेपछि कर्मचारी व्यवस्थापनमा केही समस्याहरु देखिएपछि त्यसको समाधान गर्न मन्त्रालयगत कर्मचारी निर्धारण गरिएको मन्त्री खनालले जानकारी दिनुभयो । १४ वटा मन्त्रालयका लागि कुल ३ हजार ७ सय ६४ जना कर्मचारी निर्धारण गरिएकोमा पुनर्गठन गरिएका गरिएका १० वटा मन्त्रालयमा कुल ३ सय ३५ जना थप कर्मचारीको प्रस्तावित दरबन्दी रहेको उहाँले बताउनुभएको छ । मन्त्रालय पुनर्गठन हुनुअघि पनि मन्त्रालयहरुमा आवश्यकताभन्दा ४० प्रतिशत कर्मचारी कम रहेको उहाँको भनाई छ ।