पछिल्लो केही दिनदेखि मुलुक कोरोना संक्रमणको तेस्रो लहरको चपेटामा परिरहेको छ । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि त्रास पनि बढेको छ । देशव्यापी संक्रमण तिब्र बन्दै जाँदा मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या व्यापक बनेको छ । सोमबार एकैदिन देशभर ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने मकवानपुरमा पनि एक सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जबकि आइतबार मकवानपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा एकै दिन चार गुणाभन्दा बढीले संक्रमितको संख्या वृद्धि भएपछि स्थिति भयावह बन्नसक्ने सम्भावना बढेको छ । पुसको तेस्रो हप्तासम्म जिल्लामा ५०–६० जनाको हाराहारीमा सक्रिय संक्रमित रहेकामा अहिले ५ सय नाघेको छ ।

कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरको समयमा पूर्ण लकडाउन गरिएकोमा अहिलेको तेस्रो संक्रमणमा आंशिक लकडाउनमात्र गरिएको छ । सरकारले शिक्षण संस्थाहरुमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा रोक लगाएको छ भने सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, खेलमैदान, पिकनिक स्थल, फुटसललगायत मानिसहरुको भिडभाड हुने कार्यक्रमहरु माघ १५ गतेसम्म रोक लगाइएको छ । कोरोना संक्रमणको दर बढ्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिएपछि स्थिति जटिल बन्नसक्ने आंकलन गरिएको छ । विगतमा जस्तो पूर्ण निषेधाज्ञा नभएका कारण सार्वजनिक तथा निजी सवारी साधन निर्बाध सञ्चालन भइरहेका छन् भने बजार पनि पूरै खुला रहेको छ । यसले मानिसको आवतजावत र भिडभाड कायमै रहेका कारण भौतिक दुरी कायम नगर्दा र स्वास्थ्य सावधानीका उपाय नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

जनघनत्व बढी भएका जिल्ला तथा ठूला शहरहरुमा कोरोना संक्रमण व्यापक बनिरहेको छ । यस्तो अवस्थामा हरेक व्यक्ति स्वयम् सचेत र सावधान बन्नु आवश्यक छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनु र कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउनु नै अहिलको अवस्थामा सबैभन्दा बुद्धिमानी हुनेछ । लकडाउन गरिएको छैन भन्दै लापरबाही गर्ने र सुरक्षा सावधानीका मापदण्डको उचित पालना नगर्दा अवस्था अझै भयावह बन्नसक्ने तथ्यलाई सहजै अनुमान गर्न सकिन्छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु जथाभावी हिँडडुल गर्ने गरेका कारण संक्रमणको जोखिम बढ्नेतर्फ संक्रमित व्यक्ति स्वयम् सचेत बन्नुपर्छ । यस्तै, कोरोना परीक्षण नगरेसम्म संक्रमित भए/नभएको छुट्याउन नसक्ने भएकाले जहाँसुकै र जोसुकै संक्रमित हुनसक्छन् भन्नेतर्फ प्रत्येक व्यक्ति व्यक्ति सचेत र साबधान रहनु नै संक्रमणबाट बच्ने उत्तम उपाय हुनसक्छ ।

पहिलो र दोस्रो लहरमा भन्दा अहिलेको तेस्रो लहरमा संक्रमण दर तिब्र र व्यापक बनेको छ । तर, धेरै मानिसले खोप लगाइसकेका र लगाइरहेका कारण संक्रमण भएकाहरुमा स्वास्थ्य जटिलता भने कम देखिन्छ । साथै, अहिले कोरोना संक्रमित हुनेहरुको संक्रमणमुक्त हुने अवधि पनि कम भएको छ । धेरै संख्यामा संक्रमण भइरहेको भए पनि अस्पताल भर्ना हुनेको संख्या अहिलेसम्म न्यून भएका कारण सर्वसाधारणले कोरोना भाइरस संक्रमणलाई बेवास्ता गरेको हुनसक्छ । विगतका दुईवटा संक्रमणका लहरहरु भोगिसकेको र खोप लगाइसकेका कारण आम मानिसहरुले कोरोना भाइरस संक्रमणको जोखिमप्रति लापरबाही गरेको अवस्था छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी लापरबाही गरेमा संक्रमणको जोखिम बढ्नेतर्फ सचेत हुनु आवश्यक छ ।