
हेटौंडाः तीन पंग्रे अटोमा गाँजासहित ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझा ५ बजेर ४५ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१ स्थित पालुङ बसपार्कमा ना १ ह ७६३८ नम्बरको अटोको सुरक्षाजाँच गर्ने क्रममा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीले अटो चालक मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–५, कटहरे घर भई हाल हेटौंडा–७, कमाने बस्ने वर्ष ३४ का सिताराम मोक्तानसहित लागुऔषध गाँजा ओसारपसारमा संलग्न कैलाश गाउँपालिका–१ बस्ने वर्ष ३३ का अमर बहादुर गिरि र वर्ष २६ का ईन्द्र बहादुर मोक्तानलाई पक्राउ गरेको छ । प्रहरीले बरामद भएको लागुऔषध गाँजा, अटो र पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाएको छ ।










