हेटौंडाः हेटौंडा–२, बुद्धचोकस्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीले गत आर्थिक वर्ष २०७७/०७८ मा साढे १४ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।
गत आ.व.को असार मसान्तसम्ममा सहकारीले कुल १४ करोड ५२ लाख १३ हजार रुपैयाँ कारोबार गरेको जनाएको छ । सहकारीका अध्यक्ष दीपक तिमिल्सीनाका अनुसार असार मसान्तसम्ममा १ सय २७ जना महिला र ३ सय ३० जना पुरुष गरी ४ सय ५७ जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी ३ करोड ५ लाख ८ हजार रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । सहकारीले १० करोड ४० लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै सहकारीले १ करोड ६६ लाख रुपैयाँ आम्दानी गर्दा १ करोड ६३ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ । सहकारीले साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारी तथा उत्कृष्ट कर्मचारी गरी ७ जनालाई सम्मान गरेको छ । सहकारीका अध्यक्ष दीपक तिमिल्सीनाको सभाध्यक्षतामा भएको साधारणसभामा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका मकवानपुर शाखा प्रबन्धक रामेश्वर अर्यालको पनि उपस्थिति रहेको थियो ।