चोरी गर्नु सामाजिक अपराधमात्र हैन कि नैतिकहीन क्रिया पनि हो । कुनै अर्थमा चोरी गर्नुलाई सामाजिक मान्यता दिन सकिँदैन । कानुनले नै दण्ड र सजायको व्यवस्था गरेको हुन्छ । तर यस्ता अपराध कर्ममा संलग्नहरुले सजाय पाउने भन्दा विभिन्न कारणले उन्मुक्ति पाउने गरेका छन् । घटना भएको केही दिनसम्म चोरी गर्नेहरुको खोजी गरिए पनि पुरानो हुँदै जाँदा अपराध कर्ममा संलग्नहरुले उन्मुक्ति पाउँदै आएका छन् । चोरी भएका वस्तु फेला पार्ने तर घटनामा संलग्नहरु फेला नपरेका धेरै घटना छन् । अपराध गर्नेहरुलाई जहाँ जस्तोसुकै अवस्थाबाट पनि सजायको भागिदार बनाउनै पर्दछ ।
घटनामा संलग्नलाई पक्राउ गर्ने जिम्मेवारी राज्यको मात्र पनि हैन । अपराधमा संलग्नहरु लुक्ने भनेको समाजमा नै हो । सामाजिक अवस्था, पारिवारिक सम्बन्धदेखि डरत्रासका कारण पनि अपराध कर्ममा संलग्नहरुलाई समाजले लुकाउने गरेको हुन्छ । प्रहरीको जिम्मा लगाइदिए उसँगको सम्बन्ध बिग्रने, भोलि अप्ठेरो परिस्थिति पनि आउन सक्ने वा अपराधीले धम्क्याउने सम्मका काम गरेको हुन्छ । नागरिक प्रहरी प्रशासनप्रति आश्वस्त हुने भन्दा पनि डरका कारण अपराध कर्ममा संलग्नहरुलाई संरक्षण दिइरहेका हुन्छन् । यस्तो मनोविज्ञानले समाजमा अपराधीको बोलवाला बढ्ने र राज्य संयन्त्र कमजोर बन्दै जाने अवस्था श्रृजना हुनेछ । त्यसैले जोसुकै भए पनि राज्यलाई विश्वास गरेर अपराधीलाई जिम्मा लगाउनु पर्दछ । यसका लागि नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
मकवानपुरको पुरानो बजार भीमफेदीमा सामाजिक योगदान भएको व्यक्तिको शालिक नै चोरी भएको छ । अनावरणका लागि तयारी अवस्थामा राखिएको शालिक किन र कसले चोरियो तथ्य अझै खुलेको छैन । चोरले लगेको सामान सकेसम्म पचाउन नै खोज्दछ । तर मकवानपुरे श्रष्टाको शालिक भने हराएको अर्को दिन फेला परेका छ । तर चोरहरु अहिलेसम्म पहिल्याउन प्रहरीदेखि स्थानीय नागरिकहरु असफल भएका छन् । एउटा श्रष्टाको मूर्ति किन लग्यो र खोल्सामा फाल्यो भन्ने कुरा पत्ता लागेको छैन । चोरी भएको लोककवि गणेशलाल श्रेष्ठको शालिक भेटिए पनि शालिक चोर्ने चोर भने अझै भेटिएको छैन । भीमफेदी–६ स्थित चिसापानीमा बेवारिसे अवस्थामा श्रेष्ठको शालिक फेला परेको थियो ।
मूर्तिमात्र चोरिएको हैन, सभ्यता नै हराएको हो । ऐतिहासिक स्थानबाट श्रष्टाको प्रतिमाको संरक्षण छैन भने शान्ति, सुरक्षामाथि स्वभाविक प्रश्न उठ्छ । चोरी कर्ममा बाहिरका भन्दा स्थानीयकै संलग्नता हुने सम्भावना बढी हुन्छ । दुष्प्रयास गर्र्ने जो कोही भए पनि राज्यले कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ । समाजमा योगदान गर्नेहरुप्रति यस्तो क्रुर व्यवहार गर्ने दण्डित नहुने हो भने बेथितिले मौलाउने अवसर पाउनेछ । यो घटनालाई स्थानीय प्रशासन र प्रहरीले गम्भीरताका साथ लिएर दोषीलाई कारबाही गरोस् । शालिक पुलमुनि भेटिनुले टाढै लैजानका लागि तयारी गर्दा सुरक्षाका लागि त्यहाँ छाडेको हुनसक्छ । वा घर खानतलासीको आशंकामा छोडिएको हुनसक्छ । जे भए पनि शालिक भेटियो, अब चोरी गर्ने पनि फेला पार्न प्रहरी प्रशासनको सक्रियता आवश्यक छ ।