हेटौंडाः भीमफेदी गाउँपालिकाले ९ वटै वडाभित्र रहेका जेष्ठ तथा अशक्त नागरिकहरुलाई सहायता सामग्री प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको विनियोजित बजेटबाट पालिकाभित्रका जेष्ठ नागरिकहरुको सम्मानमा ७५ वर्षभन्दा बढी उमेर भएका पुरुषहरुलाई दौरा–सुरुवाल तथा महिलाहरुलाई साडी–चोलो तथा सहायता सामग्री लौरो प्रदान गरेको हो ।
यसैगरी अपाङ्गता भएका नागरिकहरुलाई सहायता सामग्री बैशाखी तथा ह्वील चियर पनि प्रदान गरिएको छ । पालिकाले गत दशैंमा नै वडा नं. ५ र ६ मा उक्त सामग्रीहरु वितरण गरेको थियो । मंगलबार गाउँपालिकाको वडा नं. ७ कोगटे र वडा नं. ८ ईपामा पनि सामग्रीहरु वितरण गरिएको गाउँपालिकाकी उपप्रमुख पार्वती रानाले जानकारी दिनुभयो । बाँकी रहेका ५ वटा वडामा पनि चाँडै नै सहायता सामग्रीहरु वितरण गरिने उहाँले बताउनुभयो ।
मंगलबार ८ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका उपप्रमुख रानाले दुबै वडाका अपाङ्गता भएका नागरिकहरुलाई १३ वटा ह्वीलचियर र ११ वटा बैशाखी तथा जेष्ठ नागरिकहरुलाई दौरा–सुरुवाल तथा साडी–चोलो प्रदान गर्नुभएको थियो । कार्यक्रममा ५० जनाभन्दा बढी जेष्ठ नागरिकहरुको उपस्थिति रहेको ८ नं. वडा अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो ।