मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले आउँदो हप्ताबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने बताएको छ । अहिले प्रशासनको राहदानी विभागमा पासपोर्टसम्बन्धी कुनै काम भएको छैन । सरकारले नयाँ ई–पासपोर्ट लागू गरेसँगै मकवानपुरबाट पनि ई–पासपोर्ट जारी गर्न लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले बताउनुभयो ।

आउँदो हप्ताको सोमबारबाट मकवानपुरमा ई–पासपोर्ट जारी हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । उहाँका अनुसार बुधबार र बिहीबार प्रशासनका कर्मचारीलाई ई–पासपोर्टसम्बन्धी तालिम सञ्चालन हुँदैछ । यस्तै अन्य प्राविधिक कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।

ई–पासपोर्टका लागि आवेदन दिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य आवश्यक पर्छ । यसअघि मकवानपुरको विभिन्न स्थानीय तहका वडाहरुमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएपनि त्यसमा छुटेकाहरुले प्रशासनभित्रैबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण टिपाउन सक्नेछन् ।