हेटौंडाः हेटौंडा उपमहानगरले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा ६० प्रतिशत विद्यालयका विद्यार्थीको सहभागिता रहने गरेको छ । वार्षिक शैक्षिक क्यालेन्डरमा ५ अतिरिक्त क्रियाकलाप समावेश गरेको हेटौंडा उपमहानगरपालिकाले ३ वटा प्रतियोगिता आयोजना गर्दा ६० प्रतिशत विद्यालयका विद्यार्थीको सहभागिता देखिएको हो । विद्यार्थीको ज्ञान तथा क्षमता विकासका लागि स्थानीय तहले अतिरिक्त क्रियाकलापमा जोड दिए पनि विद्यालयमा भने अतिरिक्त क्रियाकलाप शून्यप्रायः छ । दिवसीय कार्यक्रम अन्तर्गत पनि विभिन्न प्रतियोगिताहरु गरिएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले बताउनुभयो ।
माध्यमिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिता, अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता र चित्रकला प्रतियोगिता भने भइसकेका छन् । यस्तै दिवसीय कार्यक्रम अन्तर्गत उपमहानगरले बालदिवसको अवसरमा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता र संविधान दिवसको अवसरमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको थियो । गणित/विज्ञान प्रदर्शनी, राष्ट्रपति रनिङ् शिल्ड छनौट प्रतियोगिता र माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता भने गर्न बाँकी रहेको उहाँले बताउनुभयो । दिवसीय कार्यक्रम अन्तर्गत शहिद दिवसको अवसरमा अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगिता हुनेछ । वार्षिक कार्यक्रम बाहेक उपमहानगरले कविता लेखन तथा वाचन र आधारभूत तथा माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिता, नृत्य र चेस प्रतियोगिता हुन बाँकी रहेको खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताहरु सञ्चालन गर्दा निबन्ध लेखनमा सबैभन्दा बढी विद्यालयका विद्यार्थी र चित्रकलामा पनि उत्तिकै सहभागी रहेको देखिन्छ । विद्यार्थीले आफ्नै कला देखाउन पाउने हुँदा चित्रकला प्रतियोगिता सबैभन्दा उत्कृष्ट बन्न पुगेको शिक्षा अधिकृत खड्काको भनाइ रहेको छ । अन्तरविद्यालय निबन्ध प्रतियोगिता हुँदा एक सय जना र चित्रकला प्रतियोगिता हुँदा ७४ विद्यालयका विद्यार्थी सहभागी थिए । कोरोना कहरकै बीच अनलाइनबाट प्रतियोगिताहरु सञ्चालन तथा आयोजना गर्दा उत्कृष्ट विद्यार्थीको पहिचान गर्न गाह्रो समेत भएको बताउनुभयो । इन्टरनेट, मोबाइल र बाहिरी वातावरणले पनि विद्यार्थीलाई प्रतियोगितामा सहभागी हुन कठिन भएको उहाँको भनाइ छ । विद्यार्थीको क्षमता विकाससँगै प्रतिभा प्रष्टफूटन गर्न अतिरिक्त क्रियाकलापका लागि २० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ ।
अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाउनु सबै विद्यालयका विद्यार्थीको अधिकार हो । तर केही विद्यालयहरुले भने उपमहानगरले आयोजना गरेको कुनै पनि प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराएको पाइएको छैन । विद्यालयहरुले आन्तरिक स्रोतका आधारमा हरेक शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप आयोजना गर्नुपर्ने हुन्छ । दिउँसो १ बजेसम्मको पढाई सकिएपछि ४ बजेसम्म विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने हुन्छ । तर विद्यालयहरुले भने अतिरिक्त क्रियाकलापमा वेवास्ता गर्दै आइरहेका छन् । विद्यालय सञ्चालन तथा व्यवस्थापन र विद्यार्थी लागतको आधारमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
अनिवार्य तथा निशूल्क शिक्षा ऐन २०७५ अनुसार कुनै पनि कारण र आवश्यकता देखाइ विद्यार्थीबाट शूल्क लिन पाइँदैन । जसकारण सामुदायिक विद्यालयहरुले अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिन नसकिएको शिक्षकहरुको भनाइ छ । संस्थागत विद्यालयका आर्थिक स्रोत नै विद्यार्थी भएका कारण प्रायः संस्थागत विद्यालयहरुले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरेको खड्काले बताउनुभयो । एक विद्यालय एक शिक्षकलाई समेटिने कार्यक्रम रहेको बताउनुभयो । कार्यविधि बनाई प्रस्ताव पेश हुनासाथ कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उपमहानगरमा ७६ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय रहेका छन् ।