हेटौंडाः अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा राक्सिराङ गाउँपालिकालाई पराजित गर्दै भीमफेदी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौंडा–४, हुप्रचौरमा जारी प्रतियोगितामा आइतबारको दोस्रो खेलमा भीमफेदीले राक्सिराङलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
निर्धारित ८० मिनेटको खेलमा भीमफेदीले पहिलो हाफमा १ गोल गर्दै अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप २ गोल गर्न सफल भएको थियो । भीमफेदीको जीतमा खेलको पहिलो हाफको २० औं मिनेटमा टिम कप्तान समेत रहेका सागर थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको ४३ औं मिनेटमा भीमफेदीकै सन्दिप गोलेले गोल गर्दै अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा राक्सिराङका अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका पुरन ठकुरीले गोल गर्दै अग्रता घटाएपनि खेलको इन्जुरी समयमा पुनः भीमफेदीका सन्दिप गोलेले गोल गर्दै टिमलाई ३–१ को उत्कृष्ट जीत दिलाए । खेलको म्यान अफ दिम्याच पनि सन्दिप नै भए ।
यसअघि भएको पहिलो खेलमा बकैया गाउँपालिकाले कैलाश गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गरेको छ । निकै नै रोमाञ्चक बनेको पहिलो खेलमा बकैयाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा बकैयाले सुधारिएको खेल प्रदर्शन गर्दै ७४ औं मिनेटमा नवराज घलानको गोलबाट खेलमा अग्रता लिएको थियो । खेलको इन्जुरी समयमा अभिषेक भ्लोनले गोल गर्दै बकैयाको जीत सुनिश्चित गरेका थिए । खेलको म्यान अफ दि म्याच पहिलो गोलकर्ता नवराज घलान घोषित भए ।
जारी प्रतियोगितालाई अवलोकन गर्न आइतबार दोस्रो खेलको क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा आउनुभएको थियो । उहाँले खेलाडीहरुसँग परिचय गर्नुहुँदै खेलाडीहरुलाई आगामी लिग प्रतियोगितामा देख्न पाइयोस् भन्दै शुभकामना दिनुभएको छ । सोमबार प्रतियोगिता अन्तर्गत २ खेल हुँदैछ । पहिलो खेलमा इन्द्रसरोवर गाउँपालिका र बागमती गाउँपालिका प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेल थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ ।